global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी
१६ वर्षमा डोली चढेकी २६ वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बनेकी देवी नेपाली । तस्वीर : कविता उपाध्याय/लिबाङ्ग (रोल्पा)

कविता उपाध्याय । लिबाङ (रोल्पा) । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनीमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्थिनन् ।
जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु प¥यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उनले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताइन् । विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो ।
रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो । देवीका अनुसार उनले घरधन्दा गर्थिन्, उनका श्रीमान् पसल सञ्चालन गर्थिन् । पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा परी निधन भयो । श्रीमानको निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उहाँमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसक्नु भएको थियो ।
श्रीमानको निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमान्को काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किइन् । शुरुशुरुका दिनमा देवीको धेरै आँशु बग्यो । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उहाँ बीचबाटोमै भक्कानिएकी थिइन् । कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उनले अझै भुल्नु भएको छैन । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उनले श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालेको बताइन् ।
उनलाई शुरुशुरुमा श्रीमान्ले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो । तर विस्तारै उहाँको क्षमतामा विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले बताइन् । यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो । तर दुःखको कुरा श्रीमानको निधन भएको करिब एक महिना नपुग्दै रु साढे दुई लाखको तमसुकसहित साहु आएपछि उनी थप चिन्तित बनेकी थिइन् । तर पनि करिब एक वर्ष नपुग्दै उनले श्रीमानले लगाएको ऋण चुक्ता गरिन् । ‘शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो,’ उनले भनिन् ।
करिब रु दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल रु आठ लाख बराबरको पुगिसकेको छ । उहाँका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०/२२ हजार बचत हुँदै आएको छ भने उहाँले कोहलपुरमा एउटा घडेरीसमेत लिइसकेकी छन् । ‘आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु,’ उनले भनिन् । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ ।
‘समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु,’ देवीले भनिन् । कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल भएकी छन्, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई रु पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ । महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खुला हृदयले प्रशंसा गरेकी छन् ।
उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ । विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् । तर पनि देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उनको धारणा छ । यस वर्षको महिला दिवसले सम्पूर्ण महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्दै आचार्यले सम्पूर्ण रोल्पाली महिलालाई शुभकामना पनि दिएकी छन् । रासस

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु