nmb bank

गृहपृष्ठ रुपन्देहीमा महिला हिंसाका घटना बढ्दै

रुपन्देहीमा महिला हिंसाका घटना बढ्दै

रुपन्देहीमा महिला हिंसाका घटना बढ्दै

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो सात महिनाको अवधिमा ९६ जनाले महिला हिंसाको निवेदन दर्ता गराएको तथ्याङ्क छ । जसमा सबैभन्दा धेरै २४ जनाले जबरजस्ती करणीको मुद्दा दर्ता गराएको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७१/०७२ मा २४३ जनाले महिला हिंसाको निवेदन दर्ता गराएका छन् । आर्थिक वर्ष २०७२/०७३ मा १९७ जना र २०७३/०७४ मा २२८ जनाले महिला हिंसाको निवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्क छ । आज १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवस ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जिवनस्तर रुपान्तरण’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसको सुरुआत अमेरिका तथा युरोपका श्रमिक महिलामाथि सैनिक दमन गरिएपछि भएको औद्योगिक क्रान्तिको परिमाणस्वरूप सन् १९औँ शताब्दीमा भएको देखिन्छ ।
सन् १८५९ मार्च ८ मा कपडा उद्योगमा कार्यरत श्रमिक महिलाले आफूलाई कम ज्याला दिएको तथा १२ घन्टासम्म काममा लगाई अमानवीय कार्य गरेको भन्दै अमेरिकाको न्युयोर्कमा विरोध प्रदर्शन गर्दा प्रहरी दमन भई धेरै महिला पक्राउ पर्नाका साथै घाइतेसमेत भएका थिए ।
त्यसैगरी पुनः सन् १९०८ मार्च ८ मा महिलामाथि भएको सैनिक दमनको विरुद्ध तथा मतदानको अधिकार र बाल श्रमिक प्रयोगको अन्त्यको माग गर्दै तीसौँ हजार महिलाले एक विरोध पदयात्रा निकाले । त्यसलाई प्रत्येक वर्ष विश्वभर एकैदिन उत्सवका रूपमा मनाउन जर्मन महिला क्लारा जेट्किनले सन् १९१० मा कोपनहेगनमा आयोजित श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरेकी थिइन् ।
यो प्रस्तावमा सहमति जनाउँदै अस्ट्रिया, डेनमार्क, जर्मनी, स्विट्जरल्याण्डजस्ता विश्वभरका महिलाले महिलाको काम गर्न पाउने अधिकार, मतदानको अधिकार, प्रशिक्षित हुन पाउने अधिकार, सार्वजनिक क्षेत्रमा काम गर्न पाउने अधिकार तथा महिलामाथि हुने विभेदको अन्त्यको मागसहित मार्च १९ लाई दिवसका रूपमा मनाउन थालिएको हो । सुरुमा प्रत्येक वर्षको मार्च १९ मा मनाउन थालिएको यो दिवसलाई सन् १९१३ देखि मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाउने चलन बसालिएको हो ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु