global ime bank Long Banner Ad

गृहपृष्ठ दशैं विदा तीन दिन घट्यो, वर्षभरी ६७ दिनमात्र विदा

दशैं विदा तीन दिन घट्यो, वर्षभरी ६७ दिनमात्र विदा

दशैं विदा तीन दिन घट्यो, वर्षभरी ६७ दिनमात्र विदा


काठमाडौं । हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने गरिन्थ्यो । तर, जनआन्दोलन २०६२÷०६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले यसवर्ष पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिएको थियो ।
तर, केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने निर्णय गरेको हो । कतिपयले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई राष्ट्रिय दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, गणतन्त्रलगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइनेछन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइनेछ । यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ(आफ्नो हिसाबले मनाइनेछन् । तर त्यस दिन सार्वजनिक विदा दिइने छैन । मन्त्रिपरिषदको निर्णयबारे प्रष्ट पार्दै राज्यमन्त्री बास्कोटाले भने, ‘दिवस र पर्वहरु आआफ्नो ढंगले मनाउने तर, सार्वजनिक विदा कटौति गर्ने नीतिअनुसार असोज ३ लाई राष्ट्रिय पर्व बनाइएको हो ।’

दशैं विदा पनि कटौती
दशैं विदा तीन दिन थप कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ । त्यस्तै हिन्दूहरुका पर्वको विदा पनि कटौति गरिएको छ । जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा पनि कटौती गरिएको छ । सरकारले सार्वजनिक विदा कटौतिमात्र गरेको छैन, समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित समुदाय वा क्षेत्रमा मात्र विदा दिने निर्णय गरेको छ ।
अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा दिइनेछ । राज्यमन्त्री बास्कोटाले भने, ‘ऋषि पञ्चमी भनेको महिलाले पतिको गोडाको पानी खाने दिन भनिन्छ, महिलालाई दासत्व स्वीकार गर्न राज्यले किन बिदा दिने ? जनैपूर्णिमामा जनै लगाउने हो बिदा किन चाहियो ? आआफ्ना परम्परागत कार्य गर्न विदा चाहिँदैन ।’ अब नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १५ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ ।

प्रकाशित समय : २३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु