गृहपृष्ठ क्यानाडाको लोभमा फसे सयौं युवा, यी हुन् ठगीका नाइके
क्यानाडाको लोभमा फसे सयौं युवा, यी हुन् ठगीका नाइके
भक्तपुर सूर्यविनायक घर भएका विदुर घतानी एक नीजि कम्पनीको माथिल्लो तहमै कार्यरत छन् । आम्दानी पनि मासिक ४० हजार रुपैयाँभन्दा बढी नै छ । उनको पारिवारिक पृष्ठभूमि पनि सम्पन्नशाली छ । तर पनि नेपालमा भविष्य नदेखेका उनी आफ्नो भविष्य विदेशतिरै खोजिरहेका छन् । यसका लागि उनको रोजाइमा युरोपेली मुलुक क्यानाडा पर्यो । त्यसैले उनले क्यानडाका लागि वर्किङ भिसा लगाउन प्रयास गरे । नभन्दै काठमाडौँको बसुन्धारास्थीत एचआर सोलुसनसँग उनको सम्पर्क भयो । १७ महिना पहिले बसुन्धारास्थित रोयल एचआर सोलुसनमा पुगेपछि त्यहाँ कृष्ण सिकेसँग विदुरको भेट भयो ।
सिकेले महिनाको ३ लाखसम्म आम्दानी हुँने भन्दै क्यानडाका लागि अवसरहरु सुनाए । वर्किङ भिसामा उड्न पाउने भएपछि विदुर त्यसै पनि खुसीले गद्गद् भए । सिकेले विदुरलाई यत्तिसम्म विश्वस्त पारे कि विदुरले ६ लाख रुपैयाँ पैसा पहिलो भेटमै सिकेलाई दिए । हट्टाकट्टा, मिजासिलो र नरम बोली भएका कृष्ण सिकेले विदुरलाई पहिलो भेटमै पट्ट्याए । तर, १७ महिना बितिसक्दा पनि एक दुई दिनमै क्यानाडा उड्ने आश्वासन पाएका विदुर नेपालमै छन् । अब उनी आफूभन्दा पनि उनको क्यानाडा उड्ने सपनाचाहिँ उड्न थालेको छ ।
विदुर मात्रै होइन झण्डै २ सय ५० जना युवाहरु यसरी नै कृष्ण सिकेको जालमा परेका छन् । ठगिनेहरु प्राय सबैले क्यानडाका लागि अप्लाई गरेका थिए । कृष्णले यी युवाहरुबाट २ लाख देखी ६ लाख रुपैयाँ सम्म लिएका छन् । पीडितहरुले सिकेलाई पैसा दिएको रसिद देखाउँदै भनेका छन्, ‘नराम्रोसँग सिकेको जालमा परियो ।’ पीडित गोविन्द रेग्मीले भने, ‘हामी ठगिदै छौँ भन्नेबारे सिकेले एउटा पनि आशंकायुक्त व्यवहार गरेन । उनको बोलि नै मीठो थियो, व्यवहार त्यस्तै शालीन थियो ।’
सिकेले दुई तीन जनाको मात्रै कोटा छ भन्दै विभिन्न राष्ट्रिय दैनिकहरुमा विज्ञापन दिने गरेका थिए । त्यही विज्ञापनको आधारमा धेरैले कृष्ण सिकेसँग सम्बन्ध बढाए । उनको शब्द जालमा परेर पैसा पनि दिए तर विदेश उड्न नपाएपछि अहिले यी युवा आफ्नो मोटो रकम सम्झदै भुमरीमा फसेको अनुभुति गरिरहेका छन् । पीडितमध्ये अधिकांश मिडियामा आउन समेत डराइरहेका छन् । घर परिवारलाई परिवारलाई थाहै नदिइ पैसा दिएर भिसा अप्लाई गरेका उनीहरु ठगिएको थाहा पाएपछि छाँगाबाट खसे सरह भएका छन् । ठगिएको कुरा आफन्तले थाहा पाए इज्जत जाने भन्दै भन्दै कतिपय त मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछन् ।
जब सिके अफिस पनि बन्द गरेर फरार भए, तब ठगिएको चाल पाए यी युवाहरुले । कृष्ण सिके कहाँ छन्, पीडित कसैलाई पत्तो छैन । भाइबरमा मात्रै कुरा गर्ने उनले युवाहरुलाई अब केही दिनमै उड्नुहुन्छ भन्दै आश्वासन दिन छाडेका छैनन् । सिकेलाई ९८५१०२०१८५ नम्बरमा भाइबरमा मात्रै सम्पर्क हुन्छ । भाइवरमा कुरा हुँदा प्रहरीमा नजान भन्दै सिकेले पीडितलाई उनले आग्रह गर्ने गरेका छन् । विदेश उड्नु त परको कुरा डुबेको पैसा फिर्ता गराइदिनुपर्यो भन्दै पीडितहरु प्रहरीको सहयोग माग्न पुगेका छन् । पीडितहरुले सिकेविरुद्ध महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।
बारम्बार प्रहरीलाई दबाब दिएपछि प्रहरीले कृष्ण सिकेको श्रीमतीलाई नियन्त्रणमा लिएको छ । तर, उनकी श्रमतिले कृष्णसँग सम्बन्ध विच्छेद भइसकेको भन्दै उनको बारेमा केही थाहा नभएको बताएकी छन् । तर, पीडितहरु भने यो कुरा मान्न तयार छैनन् । श्रीमान–श्रीमतीको सेटिङमै डिभोर्सको नाटक भएको पीडित विदुर घतानीको दाबी छ । यता, प्रहरीले भने यसबारे उजुरी परेकोका लागि अनुसन्धान भइरहेको जनाएको छ । अब पीडितहरुले पैसा उकास्न प्रहरीको भर परेको बताएका छन् ।
यसरी चलाउँथे सिकेले कम्पनी

कृष्ण सिकेले कोरल एजुकेसन प्रालि नयाँ बानेश्वरमा राखेका थिए । यहाँबाट झण्डै १ सय जनाले क्यानडाका लागि प्रक्रिया अघि बढाएका थिए । २ लाख देखि ६ लाखसम्म ती व्यक्तिहरुबाट उनले उठाएका छन् । तर, एकाएक बैशाख मसान्तमा यो कार्यालय हटाइयो । ढोकामा सूचना टाँसियो । सूचनामा भनिएको छ, ‘कार्यलय सार्न पर्ने भएकाले कार्यालय बन्द छ । एक हप्तामा नयाँ स्थानमा कार्यालय रहनेछ । जेठ ७ गतेसम्म कार्यालय बन्द रहने’ भनिएको छ । तर, असार लाग्दासमेत यो अफिसको अत्तोपत्तो छैन । ‘सूचना पनि त्यस्तै छ, एकहप्तामा नयाँ स्थानामा कार्यालय हुनेछ ।’
सिके कै अर्काे पनि कम्पनी छ । बसुन्धाराको नविल बैंकको सवैभन्दा माथिल्लो तल्लामा रोयल एच आर सोलुसन पा.लि. । अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजल्याण्ड र युरोपियन देशहरुमा वर्किङ भिसा लगाइदिने भन्दै रोयल एच आर सोलुसनले युवाहरु ठग्दै आएको छ । अझैपनि कतिपय युवाहरु यसरी नै ठगिने गरेको अनुमान प्रहरीको छ । किनकि, यी कम्पनिहरु चलाउन उनले आफ्नो श्रीमति र छोरीलाई समेत परिचालन गरेका छन् ।
प्रकाशित समय : १३:५४ बजे




















