Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

अन्य निकायका कारण स्वास्थ्य क्षेत्र बदनाम भयो : परशुराम श्रेष्ठ

न्युज कारोबार काठमाडौं साउन १४, २०७५       

अन्य निकायका कारण स्वास्थ्य क्षेत्र बदनाम भयो : परशुराम श्रेष्ठ
  मुलुक संघीयतामा गएको छ । संघीय संरचनाअनुसार स्वास्थ्यक्षेत्र पनि सोही अनुरुप व्यवस्थापन हुने क्रममा छ । अर्कातर्फ हाम्रो जीवनशैली अस्वस्थकर बन्दै गएको भनिन्छ । नसर्ने रोगहरुको प्रभाव बढेको भन्दै चिन्ता गर्नेहरु पनि छन् । जनस्वास्थ्यमा के यस्तै अवस्था हो ? स्वस्थकर जीवनशैली कसरी अपनाउने जस्ता विषयमा केन्द्रित रही जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख(प्रमुख जनस्वास्थ्य प्रशासक) परशुराम श्रेष्ठसँग विनोद दाहालले गरेको कुराकानी :   संघीय संरचना अनुसार स्थानीय तहहरुको निर्माण भएको छ । यसले स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? नेपाल सरकारले गरेका निर्णय, संविधान, कानुन लगायत प्रचलित नीतिहरुलाई मान्नु पर्दछ । स्थानीय स्तरमा स्वास्थ्यका कार्यक्रमहरु पुग्नु राम्रो कुरा हो । तर, अहिले स्वास्थ्य क्षेत्र एक प्रकारको संक्रमणको स्थितिमा छ । स्थानीय तह तथा प्रदेशहरुलाई प्रभावकारी नबनाईकन जनस्वास्थ्यलाई विकेन्द्रित गर्दा कार्यक्रमको गुणस्तरीयता तथा हाल सम्म प्राप्त गरेको राम्रा नतिजा खस्कन्छ कि भन्ने अनुभूति भइरहेको छ । उदाहरणका लागि खोप कार्यक्रमलाईनै लिन सकिन्छ । जस्तोः भ्याक्सिनको अन्तर्राष्ट्रियस्तरमा बिडिङ हुन्छ । क्षयरोगसँग सम्बन्धित औषधिहरु, परिवार नियोजनका साधनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभए परिणाम उल्टो आउने सम्भावना हुन्छ । त्यसैले यी सबै पक्षहरुलाई विचार गर्नु आवस्यक छ । यी कुराहरुको विचार नगर्दा जनस्वास्थ्यको गुणस्तरमा असर पर्छ कि भन्ने महशुस भइरहेको छ ।   कर्मचारी खटाएपछि उनिहरुसँगै विज्ञता पनि तत् तत् तहमा पुगिसकेको छ । खासै समस्या नदेखिनु पर्ने होइन र ? स्थानीय तहलाई आवस्यकता अनुसार गुणस्तरीय जनशक्ति दिन सकेका छैनौं । अहिले जनस्वास्थ्यमा स्थानीय तहमा एक जना स्वास्थ्य संयोजक र २ जना सहायक कर्मचारीहरु पठाएका छौं । तर, यतिले योजना बनाउन, कार्यान्वयन गर्न तथा मूल्यांकन गर्न पुग्दैन । स्थानीय तहमा पर्याप्त जनशक्ति छैन । बि.पि.एच. (ब्याचलर इन पब्लिक हेल्थ गरेका) पठाउन सकेको भए यसको प्रभावकारिता अलि बढ्ने थियो र साथै स्थानिय स्तरको समस्याहरु सम्बोधनको लागि तथ्यमा आधारित (evidence based or data based) योजना निर्माण गर्नुपर्ने हुन्छ त्यसको लागि सही किसिमको तथ्यांक हुनु जरुरी भएकोले यसको लागि स्थानीय स्तरको पालिकाहरुमा आर्थिक योजना तथा तथ्यांक सेवा समुहका कर्मचारीहरुको दरबन्दी व्यबस्था गर्न सकेको खण्डमा स्थानीय स्तरको समस्यालाई सम्बोधन हुने किसिमको योजना तर्जुमा, अनुगमन तथा कार्यक्रमको मूल्यांकन गर्न सकिने भएकाले स्वास्थ्य क्षेत्रमा राम्रो नतिजा आउने र साथै स्थानीय तहको नेतृत्वलाई पनि सहयोग मिल्ने थियो ।   पहिले पनि सरकारले एक हिसाबले सेवा दिँदै आएको थियो । अहिले संघीयतामा गएपछि जनताले थप सुविधा चाहेका छन्, तर स्थिति उल्टो हुँदैछ, किन ? अहिलेको परिवर्तनसँगै जनताका चाहनाहरु बढेका छन् । स्वास्थ्य सेवालाई कसरी पहुँचयोग्य बनाउन सकिन्छ ? घरदैलोमा कसरी पुर्याउन सकिन्छ ? गुणस्तरलाई कसरी कायम गर्न सकिन्छ ? पहिलेका जनशक्ति भन्दा बढी गुणस्तरीय जनशक्तिबाट सेवा पाउने जनचाहना छ । नागरिकहरुको यो अपेक्षालाई तुरुन्तै पूरा गर्न सकिने अवस्था छैन । तर त्यसअनुरुपका योजना बनाउने समय आइसकेको छ ।
हाल जिल्लाबाट पठाएका कर्मचारीहरु सबैलाई योजना तर्जुमा, अनुगमन तथा मूल्याकंन गर्ने कार्यमा केहि समस्या भएको छ । तर पनि जनस्वास्थले उहाँहरुको क्षमता वृद्धिमा बिभिन्न माध्यामबाट सहयोग गर्दै आएको छ र गर्छ पनि ।
  यसमा स्थानीय तहका जनप्रतिनिधीहरुको सहयोग र समन्वय कस्तो पाउनु भएको छ ? अहिले राजनीतिज्ञहरुले जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई राम्रो ढंगले आत्मसात गरिरहनुभएको जस्तो देखिएको छैन । उहाँहरुको प्राथमिकतामा पुलपुलेसा, बाटोघाटो, सडक, भवन, ढल जस्ता पक्षहरु छन् । यीनिहरुको निर्माण भयो भने विकास भयो भन्ने धाराणा व्याप्त छ । जनस्वास्थ्य धेरै क्षेत्रसँग सम्बन्धित विषय भए पनि यो त स्वास्थ्यले मात्रै हेर्ने हो, यसमा हाम्रो विज्ञता कहाँ छ र ? भन्ने धारणा उहाँहरुमा अझै पनि छ । तर स्वास्थ्य सेवा बहुपक्षीय विषय हो, यसमा हामीले पनि गम्भीरता पूर्वक लाग्नुपर्छ भन्ने बुझ्न जरुरी छ ।   काठमाडौंका स्थानीय तहहरुमा स्वास्थ्यका क्षेत्रमा कस्तो व्यवस्था गर्नुभएको छ ? काठमाडौंका सबै स्थानीय तहहरुलाई हामीले सम्बन्धित स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेका छौं । महानगरपालिकामा शहरी क्लिनिकहरु छन् । उहाँहरुमार्फत नै सेवा सुचारु भएको छ ।   स्थानीय तहहरु अब स्वायत्त निकाय भए, उनीहरुका अलग–अगल नीतिहरु हुन सक्लान् । तर जनस्वास्थ्यको एउटा मापदण्ड होला स्थानीय तहको स्वास्थ्यसँग तपाईंहरुको सम्बन्ध कहाँनेर जोडिन्छ ? स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई कसरी दक्ष बनाउन सकिन्छ ? भन्नेमा हाम्रो भूमिका हुन्छ । उहाँहरु हामीसँग समन्वयमा पनि हुनुहुन्छ । स्वास्थ्यका कर्मचारीहरु खटिइसकेका छन् । त्यसरी खटिएर जानुभएकाहरुले योजना बनाउने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने, बजेटिङ गर्ने जस्ता कार्य गर्नुहुन्छ । तर हाल जिल्लाबाट पठाएका कर्मचारीहरु सबैलाई योजना तर्जुमा, अनुगमन तथा मूल्याकंन गर्ने कार्यमा केहि समस्या भएको छ । तर पनि जनस्वास्थले उहाँहरुको क्षमता वृद्धिमा बिभिन्न माध्यामबाट सहयोग गर्दै आएको छ र गर्छ पनि ।   काठमाडौंको धुँवा धुलोबाट जोगिने केही टिप्स छन् ? धुँवा धुलोबाट बच्नका लागि माक्सको प्रयोग गर्नुहोस् । आवश्यकता विना धुवाँ धुलो युक्त क्षेत्रमा नजानुहोस् । सडकमा धुँवा धुलोको समस्या छ यसबाट जोगिन अपनाउनुपर्ने सावधानी भनेका यस्तै यस्तै हुन् । parashuram-newskarobar   काठमाडौंमा नसर्ने रोगहरुको स्थिति कस्तो छ ? अहिले नसर्ने रोगमा क्यान्सर, मुटु तथा मृगौला रोगका प्रभाविहरुको संख्या ठूलो छ । यस्ता रोगका पीडित विपन्न नागरिकहरुका लागि सरकारले अधिकतम १ लाख रुपैयाँ बराबरको उपचार सेवाको व्यवस्था गरेको छ । हामीले त्यसको प्रमाणित गर्ने लगायतका कार्यमा समन्वय गर्दै आएका छौं । यसरी हेर्दा नसर्ने रोगमा क्यान्सर, मुटु तथा मृगौलाको रोग समस्याको रुपमा रहेको छ । आ.व. २०७४/०७५ मा मात्र एक हजार ७ सय ५० जना जतिको यस कार्यालय बाट सिफारिस गरिएको छ ।   सरुवा रोगहरुमा नी ! सरुवा रोगलाई विभिन्न पक्षले प्रभाव पार्छन् । अखाद्य बस्तु, अस्वस्थकर पानी जस्ता समस्या छन् । सरुवा रोगका दृष्टिले अहिले बजारमा उपलब्ध खाद्य बस्तु तथा पानी त्यति सुरक्षित छैन । जसका कारण झाडापखालाका समस्याहरु, स्वास प्रस्वास, निमोनिया, छालाका रोगहरु अलि बढी देखिएको छ ।
  पानी, खाद्य तथा सरसफाईमा गुणस्तर नहुँदा सरुवा रोगको संक्रमण हुने गरेको छ । त्यसै गरी वायु प्रदूषण अस्वस्थकर जीवनशैलीका कारण क्यान्सर, उच्च रक्तचाप मधुमेहका समस्याहरु देखिएका छन् । त्यसैगरी दुर्घटनाहरु भइरहेका छन् त्यसले पनि स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ ।
  स्वास्थ्य धेरै पक्षसँग सम्बन्धित विषय हो । अन्तरनिकाय समन्वयलाई कसरी अगाडि बढाउनु भएको छ ? हामी प्रत्येक महिना जिल्लाका विभिन्न निकायका प्रमुख ज्यूहरुसँग बसेर छलफल बहस गर्छौं । खानेपानीका कुराहरु, खाद्यबस्तुका कुराहरु छन् । यस्ता पक्षलाई जिल्ला तहमा छलफल गरी समन्वयात्मक ढंगले जनताको स्वास्थ्यमा सकारात्मक सुधार आउने गरी समन्वयात्मक ढंगले अघि बढीरहेका छौं ।   समन्वयप्रति सन्तुष्ट हुनुहुन्छ कि केही नपुगेजस्तो लाग्छ ? पूर्ण रुपमा सन्तोष मान्न सकिने स्थिति त हो भन्न नसकिएला तर भइरहेको समन्वयप्रति असन्तुष्टि जनाउनुपर्ने अवस्था छैन ।   तपाईंको अनुभवमा काठमाडौंमा मान्छे बिरामी चाँही के कारणले हुन्छन् ? खासगरी वातावरण स्वस्थकर छैन । पानी, खाद्य तथा सरसफाईमा गुणस्तर नहुँदा सरुवा रोगको संक्रमण हुने गरेको छ । त्यसै गरी वायु प्रदूषण अस्वस्थकर जीवनशैलीका कारण क्यान्सर, उच्च रक्तचाप मधुमेहका समस्याहरु देखिएका छन् । त्यसैगरी दुर्घटनाहरु भइरहेका छन् त्यसले पनि स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ ।   नेपालको जनस्वास्थ्यको स्थिति कस्तो छ ? दक्षिण एसियामा जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रम नेपालमा राम्रो छ । यसलाई स्वीकार गर्नु पर्दछ । सन् २०११ र सन् २०१६ मा भएका जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणहरुलाई तुलना गरेर हेर्नुभयो भने धेरै पक्षमा सुधार आएको छ । औषत आयु बढेको छ । पोषणको अवस्था सुधारिएको छ । मातृमृत्युदर, शिशु मृत्युदर, बालमृत्युदर जस्ता सूचकहरुमा सुधार भएको छ । त्यसैले जनस्वास्थ्यको क्षेत्रमा निरुत्साहित हुनुपर्ने अवस्था छैन । हामीले स्वास्थ्य क्षेत्रमा क्रमिक रुपमा सुधार गरिरहेका छौं, नगरेको भन्न मिल्दैन ।   सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वास त गुम्दै गएको छ नि ! हामी वि.स. २०५० भन्दा अघिको संरचनामा काम गरिरहेका छौं । त्यतिबेलाको जनसंख्या र अहिलेको जनसंख्याको आकारमा धेरै अन्तर आइसकेको छ । हाम्रो संरचना पूरानै छ । जनशक्ति पूरानै छ । नयाँ नयाँ रोगहरु आइरहेका छन् । जस्तो डेंगुको कुरा गरौं । २०५० मा डेंगु थिएन, अहिले आयो । खानेपानीले गुणस्तरीय पानी दिन नसक्दा स्वास्थ्य क्षेत्र प्रभावित बन्न पुगेको छ । अन्य निकायले राम्रो काम नगर्दा स्वास्थ्य क्षेत्र बदनाम भएको अनुभव गरेको छु । नेपाल जनसांखीक तथा स्वास्थ्य सर्बेक्षण सन् २०११ र सन् २०१६ का सर्भेक्षणहरु तुलना गर्नुभयो भने नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो कार्य गरेको छ । नेपालको जनस्वास्थ्यका क्षेत्रमा सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, अ.हे.ब. अ.न.मी. जस्ता तहमा कार्यरतहरुको ठूलो योगदान छ । त्यसलाई विर्सनु हुँदैन ।   जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक स्वास्थ्य सन्देशको प्रचार–प्रसार पनि गर्छ । तर, त्यो प्रभावकारी भएन भनिन्छ नी ! सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हामी आकस्मिक अनुगमन पनि गर्छौं । खैनी, चुरोट खानेलाई दण्डित गर्ने, त्यस्ता बस्तुहरु नियम विपरित सेवन गरेमा जफत गरेर नष्ट गरेका पनि छौं । कतिपय अवस्थामा चेतनाको कमी पनि छ । चुरोट तथा खैनीका बट्टामा क्यान्सरका चित्र अंकित पनि गरिएको छ । यी विविध कारणले चेतना वृद्धि भएको छ । एकैचोटी झट्टै सुधार हुँदैन । तर, क्रमिक रुपले यस्ता कुराहरु खानुहुन्न स्वस्थकर जीवनशैली अपनाउनुपर्छ भन्ने बोध हुँदै गएको छ ।   हाम्रो अस्वस्थकर जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु बढ्दै गएका छन् । यसबाट जोगिनका लागि तपाईंका केही टिप्स छन् ? यसमा मैले एउटा सूत्र बनाएको छु, त्यो हो ‘एमएडिइएस्’ । अहिले यो सान्दर्भिक पनि छ । ‘एम्’ भनेको ‘मेडिटेसन’ । मेरो विचारमा प्रत्येक नेपालीले मेडिटेसन गर्नु आवश्यक छ । खासगरी शहरी क्षेत्रमा तनावपूर्ण जीवनशैली छ । त्यसैले विहान र बेलुका मेडिटेसन गर्नु आवश्यक छ । मेडिटेसन पनि दुई किसिमको हुन्छ, एउटा शारीरिक र अर्काे मानसिक । योग र ध्यान लाई अब जीवनको अभिन्न अंगका रुपमा विकास गर्नु आवश्यक छ । दोस्रो ‘ए’ भनेको ‘एडिक्सन फ्रि’ हो । अब दुव्र्यसनमुक्त जीवनशैली अपनाउनु आवश्यक छ । यसले धेरै प्रकारका नसर्ने रोगहरु जस्ता रोगहरुलाई रोकथाम गर्न सक्छौं । तेस्रो ‘डी’ भनेको ‘डाइट’ । हाम्रो खाना सात्विक हुनुपर्याे । माछा मासुले हाम्रो कोलेस्ट्रोल बढाउँछ । युरिक एसिड बढ्ने जस्ता समस्या आउछन् त्यसैले सात्विक भोजन अपनाउनु पर्छ । फलफूल, हरियो सागसब्जीमा अलि बढी ध्यान दिनु आवश्यक छ । चौथो ‘ई’ भनेको ‘एक्सरसाइज’ । दिनहुँ कम्तिमा ३० मिनेट पसिना आउँने गरी हिड्नु पर्दछ । पछाडि पट्टी हातका दुईटा पाताको बीचबाट पसिना निस्कने गरी विहान–विहान हिड्नु पर्दछ । पाचौं ‘एस्’ भनेको ‘स्लिपिङ ह्याबिट’ । अहिले राती धेरै पढ्ने विहान सुतिराख्ने चलन छ । तर, त्यसो गर्नु भएन । रातिको समयमा इन्टरनेटको अधिक प्रयोग गर्दा अहिलेका युवामा डिप्रेसनको समस्या आउन थालेको छ । त्यसैले राति १० बजेभन्दा अगाडि सुतिसक्नु पर्ने र विहान सबेरै उठेर योग गर्ने र त्यसपछि आफ्नो काममा लाग्ने बानी बसाउनु आवश्यक छ । तस्बिर : सुनिल प्रधान

सम्बन्धित खबरहरु