गृहपृष्ठ शान्ति र समृद्धि नै मूल लक्ष्य : मुख्यमन्त्री राई
शान्ति र समृद्धि नै मूल लक्ष्य : मुख्यमन्त्री राई
इटहरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मेहनतपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् । डिभाइन ट्रेनिङ सेन्टर इटहरीले बुधबार इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा मुख्यमन्त्री रार्इले आर्थिक पारदर्शिता कायम गरी सुशासनबाट जनतालाई खुसी तुल्याउने मार्गमा आफू अहोरात्र क्रियाशील रहने प्रतिबद्धता जनाए । जनताको चाहना, भावना र आवश्यकता एवं आकांक्षा पूर्ति गर्नु नै प्रदेश वा केन्द्रीय सरकारको समेत दायित्व रहेकोतर्फ आफूहरु सचेत रहेको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशमा राजनीतिक परिवर्तन भएको झण्डै ३० वर्ष बितिसक्दा पनि असल राजनीतिक संस्कार विकास हुन नसकेको बताए । ‘जनताले ढुक्क भएर काम गर्ने वातावरण बन्न सकेको छैन,’ उनले भने, ‘यही अवस्था रहने हो भने जनताले अर्को परिवर्तन खोजी गर्लान् भनेर सचेत रहनुपर्छ ।’ न्युरो सर्जन डा. यामबहादुर रोक्काले हरेक क्षेत्रले आफ्नो पेशाप्रति इमानदार भई जनअपेक्षित विषयलाई केन्द्रमा राखेर काम गर्न सकेमात्र जनविश्वास बढ्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री राई, विवेकशील साझाका संयोजक मिश्र र न्युरो सर्जन डा. रोक्कालार्इ सम्मान गरियो । डिभाइन ट्रेनिङ सेन्टरकी प्रेमवदा श्रीमालीले उनीहरूलाई जनही ५० हजार रूपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिन् । इथियोपियाका कर्तव्यपरायण अग्रज नागरिक रोकास जिलिङ्कासको नाममा सो सम्मान स्थापना गरिएको हो । (रासस)
प्रकाशित समय : २२:३७ बजे



















