सम्बन्धनको पर्खाइमा बी एण्ड सी अस्पताल
वि.सं.२०७५ साउन १६ बुधवार ००:२५
shares

झापाको बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बी एण्ड सी अस्पताल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बी एण्ड सी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालि ले स्वास्थ्य सेवा शुरु गरेको हो ।
मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड–५ मा बी एण्ड सी अस्पताल मेडिकल कलेजको पठनपाठन सञ्चालनका लागि मेचीनगर नगरपालिका वडा नं. ११ धाइजनमा बेसिक साइन्स भवन बनेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका युवा नेता योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हस्पिटलको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
युवा व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा स्थानीय लगानी र बैंकको कर्जा गरी ६ अर्ब बी एण्ड सी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिमा हालसम्म लगानी भइसकेको सञ्चालक समितिका अध्यक्ष इन्दिरा गिरी बताउँछिन् । गिरीका अनुसार मेची अञ्चलमा एउटा अत्याधुनिक सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य राखेर नै बी एण्ड सी अस्पतालको स्थापना गरिएको हो ।
चार वर्षको दौरानमा अस्पताललाई पूर्वकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त बनाउन सकिए पनि चिकित्सा शिक्षा प्रदान गर्ने योजना भने मुलुकको राजनीतिक उतारचढाव र चिकित्सा शिक्षासम्बन्धी अस्थिर नीतिका कारण अपूरै रहेको गिरी बताउँछिन् ।
प्रा. डा. गोविन्द केसीसँग भएको नौबुँदे सहमतिमा काठमाडौं उपत्यका बाहिरका आशयपत्र पाएर पूर्वाधार खडा गरिसकेका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने उल्लेख भएपछि बी एण्ड सी अस्पतालका सञ्चालक र झापाबासीले अब छिट्टै बी एण्ड सीलाई मेडिकल कलेजका रुपमा देख्न पाउने आशा व्यक्त गरेका छन् ।
‘हामी दुई वर्षअघिदेखि नै मेडिकल कलेज सञ्चालनका लागि तयार भएर बसेका छौं,’ बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिका प्रिन्सिपल प्रा. डा. उमेशकुमार शर्मा भन्छन्, ‘मेडिकल कलेजमा आवश्यक हुने सबै पूर्वाधार यहाँ निर्माण भइसकेको छ ।’
नेपाल मेडिकल काउन्सिलबाट खटिएको अनुगमन टोलीले बी एण्ड सीको बेसिक साइन्स भवन, ल्याव, लेक्चरर क्लासरुमलगायत सबै पूर्वाधार तयार भइसकेको भनी गत वर्ष नै प्रतिवेदन बुझाइसकेको प्रा. डा. शर्माले जानकारी दिए । उनका अनुसार सरकारबाट २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाइसकेको र तोकिएका मापदण्डसमेत पूरा गरिसकेको हुँदा मेडिकल कलेज बन्न बी एण्ड सी अस्पताल पूर्णरुपले योग्य भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बी एण्ड सी हस्पिटलले २०७३ साउन ९ गते ३०० सैयाको अस्पताल सञ्चालनको स्वीकृति पाइसकेको छ भने २०७१ मङ्सिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० सैयाको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. रोहितप्रसाद यादवका अनुसार ३०० सैयाको बी एण्ड सी अस्पतालमा न्यूरो, अर्थोपेडिक्स, अर्बुदरोग, स्त्रीरोग, दन्त, नाक– कान– घाँटीलगायत २२ उपचार विभाग छन् भने ५० सैयाको आकस्मिक सेवा सञ्चालन भइरहेको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दीक्षित शल्यचिकित्सक डा. यादव चिकित्सा शिक्षा प्रदान गर्न पाउने आशाले बी एण्ड सीमा थुप्रै दक्ष प्राध्यापक कार्यरत रहेको बताउँछन् । ‘दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग दुवै हिसाबले स्वास्थ्य सेवामा हामी पूर्वकै अब्बल छौं,’ डा. यादव भन्छन्, ‘सम्बन्धन पाइसकेपछि मुलुकमै सबैभन्दा राम्रो ढङ्गले हामी मेडिकल कलेजलाई सञ्चालन गरेर देखाउँने छौं ।’
निजी क्षेत्रको लगानीमा झापामा मेडिकल कलेज बनाउने परिकल्पना बिर्तामोड–५ निवासी दुर्गा प्रसाईँले गरेका हुन् । पूर्व माओवादी कार्यकर्ता प्रसाईँ २०६५ सालतिर महँगो मूल्याङ्कन हुने बिर्तामोडमा रहेको आफ्नो पैतृक जग्गा धितो राखेर मेडिकल कलेज निर्माणको अभियानमा होमिएका थिए ।
‘झापामा मेडिकल कलेज स्थापना गर्छु भनेर शुरुका दिनमा सुनाउँदा मानिसहरु हावादारी कुरा गरेको भनेर मलाई ठट्टामा उडाउँथे,’ बी एण्ड सीका परिकल्पनाकार एवम् कार्यकारी निर्देशक प्रसाईँ भन्छन्, ‘धनीमानीहरु त भारत र काठमाडौं पुगेर पनि उपचारमा खर्च गर्न सक्थे तर गरीब निमुखाहरु भरपर्दो उपचार नपाएर मर्नु परिरहेको अवस्था देखेर मेरो मन रोयो, त्यसकारण मैले मेची अञ्चलवासीकै हितमा समर्पित भएर काठमाडौं र भारतको भन्दा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज झापामै खोल्छु भन्ने संकल्प गरेको हुँ ।’
अस्पताल सञ्चालन र मेडिकल कलेजको सम्बन्धनका लागि ठूलो संघर्ष गर्नु परे पनि आखिर यो सबै मेची अञ्चलबासीको हितका लागि भएकाले आफूले व्यहोर्नु परेको हैरानी र लगानीप्रति गौरवबोध नै भइरहेको उनी बताउँछन् ।
हाल अस्पतालमा ११० कन्सल्टेन्ट डाक्टरसहित ८७१ कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेको प्रसाईं बताउछन् । बिर्तामोड नगरपालिकाले बी एन्ड सी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाउनुपर्छ भनी आव २०७४÷७५ को नगरसभामै प्रस्ताव अनुमोदन गरेको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।
‘पहिले पहिले नेपालका बिरामी भारतको सिलगढीतिर उपचारका लागि जान्थे, अहिले उताका बिरामी बीएण्डसी हस्पिटलमा धाउन थालेका छन्,’ नगर प्रमुख शिवाकोटी भन्छन्, ‘राज्यले तोकेका सबै शर्त र मापदण्ड पूरा गरिसकेको अवस्थामा बीएण्डसीलाई सम्बन्धन दिनबाट रोक्नु हुँदैन भन्ने हामी सम्पूर्ण बिर्तामोड नगरवासीको माग हो ।’
मेडिकल कलेज बन्नका लागि आशयपत्र पाएको हुनुपर्ने, वातावरणीय प्रभाव मूल्यांकन गरेको हुनुपर्ने, भूकम्प प्रतिरोधी भवन निर्माण भएको हुनुपर्ने, ३०० सैयाको सञ्चालन स्वीकृति पाएको हुनुपर्ने र अस्पतालका नाममा कम्तीमा १६ बिघा जग्गा दर्ता हुनुपर्ने सरकारी मापदण्ड छ ।
अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार शहरी विकास मन्त्रालयबाट अस्पतालले २०७२ माघ ८ गते भवन ऐन २०५५, राष्ट्रिय भवन संहिता २०६० र आइएस कोडअनुसारको मापदण्ड पूरा गरेको भनी भवन स्वीकृति प्राप्त गरिसकेको छ । सरकारले तोकेका सबै मापदण्ड बी एण्ड सी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले पूरा गरिसकेको जिकिर गर्दै जनसम्पर्क अधिकृत गिरी अब छिट्टै मेडिकल कलेजका रुपमा सम्बन्धन पाउनेमा विश्वस्त रहेको बताउँछन् ।

























