अन्तत: भारतले बन्द गर्यो विराटनगरको क्याम्प अफिस
वि.सं.२०७५ साउन १६ बुधवार १८:२५
shares

भारतले विराटनगरमा सञ्चालन गरिरहेको क्याम्प अफिस बन्द गरेको छ । कोशी बाँध फुटेपछि १० वर्षअघि भारतले क्याम्प अफिस खोलेको थियो । भारतीय दुतावासले प्रेस विज्ञप्ति जारी गरि आजदेखि विराटनगरको क्याम्प अफिस बन्द भएको जनाएको हो । क्याम्प अफिसबाट हुने गरेको कामकाज काठमाडौंबाट नै हुने दुतावासले जनाएको छ ।
भारतले सप्तकोशी बाँध फुटेपछि २०६५ भदौमा क्याम्प अफिस स्थापना गरेको थियो । कोशी नदीको बाँध भत्किएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएपछि विराटनगरमा भारतीय दूतावासको क्याम्प अफिस खुलेको थियो ।
सवारी साधन भारत प्रवेशका लागि राजदूतावासबाट प्रवेश अनुमति पत्र लिनुपर्ने भएकाले क्याम्प अफिस खोलिएको थियो । बाँध निर्माण भएपछि कार्यालयको औचित्य समाप्त भएपनि कार्यालय भने बन्द भएको थिएन ।
भारतीय राजदूतावासले दरबन्दी थप गरेर विराटनगरमा छुट्टै घर भाडा लिएर सेवामूलक कार्यक्रम संचालन गर्न थालेको थियो । औचित्य सकिएपछि पनि नेपालको अनुमति बिना क्याम्प संचालन गरेको भन्दै भारतको चौतर्फि विरोध भएको थियो ।

























