गृहपृष्ठ कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट
कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट
घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यो वर्ष ठूलो गिरावट आएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मंगलबारसम्म ८१४ अर्ब डलर (९१३ खर्ब वन) मा झरेको छ । जनवरी २ तारिखको तुलनामा यो ६ प्रतिशतको गिरावट (५८ खर्च वन) हो ।
कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६.७ प्रतिशतले घटेको छ । तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यो अवधिमा २.२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । एलजी ग्रुपको बजार मूल्यमा १२.८ प्रतिशतले कमी आएको छ ।
सेयर बजार विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किंदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन् । कोरियाली कम्पनीको मूख्य बजार र व्यापारिक साझेदार नै यी दुई मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो ।
प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो
दक्षिण कोरियामा प्रचण्ड गर्मीका कारण कृषिउपजको मूल्यमा भारी वृद्धि भएको छ । गत महिनाको तुलनामा कृषि उत्पादनको थोक मूल्यमा ६.५ प्रतिशत वृद्धि भएको कृषि, खाद्यान्न तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ ।
बन्दा र मूलाजस्ता तरकारीको मूल्य अकासिएको छ । औसतमा यस्तो मूल्यमा ५० प्रतिशत वृद्धि भएको छ । कोरियाली मौसम विज्ञान विभागका अनुसार, बुधबार दिउँसोको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ र यो सन् १९०७ यताकै सबैभन्दा उच्च हो ।
प्रकाशित समय : १८:३० बजे


















