गृहपृष्ठ यूएर्इस्थित नेपाली दूतावासले भन्यो- आममाफीको सदुपयोग गर
यूएर्इस्थित नेपाली दूतावासले भन्यो- आममाफीको सदुपयोग गर
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई यूएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । यूएई सरकारले आफ्नो मुलुकमा गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा यूएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीन महिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था आजदेखि लागू भएर कात्तिक १४ गतेसम्म कायम रहनेछ ।
प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्ति आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार यूएर्इको अध्यागमनको नियमअनुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविष्यमा यूएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइनेछ ।
साथै वैधरुपमै यूएईमै बस्न चाहनेले काम खोज्न यूएई सरकारले तोकेको ५०० दिराम (करिब १५ हजार रूपैयाँ) शुल्क तिरेर ६ महिनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।
त्यस्तै यूएईमै काम खोजेर बस्न चाहनेका लागि राहदानी आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
प्रकाशित समय : १८:५५ बजे


















