गृहपृष्ठ विराटनगरमा हरित नगरी अभियानको सुरुवात
विराटनगरमा हरित नगरी अभियानको सुरुवात
प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई हरित नगरी बनाउने अभियान सुरु भएको छ । विराटनगर महानगरपालिकाले ‘स्वच्छ, सुन्दर, हरियाली, सफा र सभ्य सहर विराटनगर’ भन्ने नारासहित वृक्षारोपण कार्यक्रम आयोजना गरी हरित नगरी अभियान सुरु गरेको हो ।
बुधबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर–१०, शान्तिचोकमा वृक्षरोपण गरेर अभियानको सुरुवात गरे । अब ढलसहित कालोपत्रे भएका सडकछेउमा वृक्षारोपण गरिनेछ । त्यसका लागि एक हजार ७ सय ५० विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारीमा विराटनगर महानगर जुटेको छ ।
वृक्षारोपण कार्यक्रममा नगर प्रमुख पराजुलीले विराटनगरलाई हरित नगरीका रुपमा विकास गर्दै लगिने बताए । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सरसफाइ र वृक्षारोपण कार्यक्रमले निरन्तरता पाउने उनले बताए । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, वडा नम्बर १० का अध्यक्ष माधवराज वाग्ले, महानगर वातावरण शाखा अधिकृत अनिता न्यौपानेलगायतको सहभागिता थियो ।
प्रकाशित समय : १९:३२ बजे


















