काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्रामीण महिला अल्लो प्रशोधनप्रति आकर्षित

19.78K
shares

कुनै समयमा गाई-भैसीकाे आहारा हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ । कालिकाेटका महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयआर्जन माध्यम बनेको हो ।

शुभकालिका गाउँपालिका– १ छाति (साविकको भर्ता गाविस)मा चार वर्षअघि जनजाति महिलाले सञ्चालन गरेको अल्लो प्रशोधन उद्योगबाट शुरु भएको यो अभियानमा अहिले जिल्लाका विभिन्न क्षेत्रका महिला पनि समाहित हुन थालेका छन् । हाल सान्नित्रिवेणीको मुम्रा, नरहरिनाथको कुमालगाउँ, तिलागुफाको चिल्खायालगायतका क्षेत्रमा अल्लोको कपडा बनाउन महिला सक्रिय भएका छन् ।

तीन महिनासम्म तालीम सिकेर महिलाले अल्लो प्रशोधन गरी कपडा बनाउन थालेका हुन् । कालीकाेटको सबैभन्दा बढी अल्लो पाउने नरहरिनाथ गाउँपालिकाको रुप्साका महिला यो सीप सिक्न दत्तचित्त भएर लागेका छन् । नरहरिनाथ गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग शाखा कार्यालय कालीकोटको समन्वयमा तीन महिने अल्लो प्रशोधन तालीम पाएका महिला स्वयंले अहिले अल्लोको संरक्षण गर्छन् ।

सीप सिकेर आफ्नो खुट्टामा उभिनसक्ने भएको बताउने कुमालगाउँ निवासी मयसरा बुढाले अहिले अल्लो लोप हुने क्रममा रहेकाले यस बारेमा ध्यान दिनुपर्ने अावश्यकता रहेकाे बतार्इन् । तालीममा सहभागी भएका महिलाले अहिले उद्योग सञ्चालनमा ल्याएका छन् ।

पाल्पाबाट अल्लो प्रशोधनको तालीम दिन केही मानिस गाउँमा आउँदा के नै फाइदा होला र भनेर बेवास्ता गरेका शुभकालिका गाउँपालिका–१ निवासी पानसरा रोकामगरले आफूले उत्पादन गरेको अल्लोको कपडा जिल्ला बाहिर बिक्री हुने गरेकामा खुसी छिन् । उनी अल्लोको कपडा उत्पादन गरेर काठमाडौं लगायतका ठाउँमा बिक्रीका लागि पठाउने गर्छिन् । एक मिटर अल्लोबाट उत्पादित कपडाको रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुने गरेको रोकामगरको भनाइ छ । अहिले उनी प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्दैछिन् ।

अल्लो भनेर हेलाँ गर्नु भन्दा अल्लोको प्रयोगका बारेमा बुझ्नुपर्ने पानसरा रोकामगरको भनाइ छ । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा आफूले सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गर्छिन् । गाउँपालिकाले चेतना अभिवृद्धिमा भन्दा पनि महिलाका लागि सीप सिक दक्षता हासिल गर्न दिन योजना तथा बजेटको व्यवस्था गरेको उहाँ बताउनुहुन्छ ।

(रासस)