गृहपृष्ठ बेलकाको ३५ बिघा जमिनमा सामूहिक खेती

बेलकाको ३५ बिघा जमिनमा सामूहिक खेती

बेलकाको ३५ बिघा जमिनमा सामूहिक खेती

उदयपुरको बेलका नगरपालिकाका कृषकले सामूहिक खेती सुरु गरेका छन् । बेलका–३ मा रहेको पौरखी कृषक समूहको अगुवाइमा कृषकहरुले सामूहिक खेती सुरु गरेका हुन् । समूहले जटिबुटीका रुपमा प्रयोगमा आउने ‘लेमन ग्रास’ लगाउने तयारी गरेको छ । यसका लागि सिसौलीभन्दा दक्षिणमा भाटेपूल क्षेत्रमा करिब ३५ बिघा जमिन जोत्न थालिएको छ । ‘जग्गा नाप्ने काम सकेर अहिले जोत्न लगाएका छौँ,’ समूहका अध्यक्ष भीम घिमिरेले भने, ‘विरुवा रोप्ने काम केही दिनभित्रै सुरु हुन्छ ।’

घिमिरेका अनुसार समूहमा रहेका ५५ कृषक यो खेतीमा संलग्न हुँदैछन् । नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले सामूहिक खेती गर्न लागिएको क्षेत्रको अवलोकन गरेका छन् । उत्पादनशीन क्षेत्रमा लाग्नेलाई नगरपालिकाले प्रोत्साहन गर्ने उनले आश्वासन समेत दिएका छन् ।
बेलका नगरपालिकाको रामपुरबाट दक्षिणमा पर्ने उक्त स्थान समथर क्षेत्र हो । बलौटे र मलजन्य माटो रहेकाले यसमा उत्पादन बढी हुने कृषकहरुको अपेक्षा छ । ‘यो भूमिमा कृषिसँगै जडिबुटीजन्य विरुवाको सम्भावना पनि अत्यन्तै प्रबल छ,’ बराह हर्बल प्रालिका अध्यक्ष निलहरि काफ्लेले भने, ‘अहिले कृषकहरुले जुन प्रयास गरेका छन्, यो सराहनीय छ, यसलाई नगरपालिकाले प्रोत्साहन गर्नुपर्छ ।’

चालू आर्थिक वर्षलाई उत्पादन वर्षका रुपमा मनाउने नगरपालिकाको योजनालाई कृषकहरुको यो प्रयासले सार्थक पार्ने विश्वास गरिएको छ ।

के हो लेमन ग्रास ?

लेमन ग्रासलाई चाइनिज घाँस, निम्बु घाँस वा कोचीन घाँस पनि भनिन्छ । यसको वैज्ञानिक नाम ‘सिम्बेपोगोन फ्लक्सुओसस हो । खासगरी यो गर्मीमा फस्टाउँछ । यो लामो हुन्छ र सधैँ हरियो रहन्छ । लेमन ग्राुलाई दक्षिण–पूर्व एसियाभन्दा बाहिर कसैले पनि जान्दैन थिए । तर, आज विश्वका धेरै देशमा यसको प्रयोग भएको पाइन्छ । कतिपयले यसलाई हर्ब पनि भन्ने गरेका छन् । तर, यो घाँस, लेमन ग्रास, हर्ब दुबै हो ।

यसको पत्ता चियामा हाल्दा बास्ना आउँछ । यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । यसको खेतीका लागि गर्मी ठाउँ उपयुक्त मानिन्छ । खासगरी भारतको केरला, तमिलनाडु, कर्नाटक, असाम, पश्चिम बंगाल, उत्तर प्रदेश र राजस्थान राज्यमा लेमन ग्रासको खेती व्यापक रुपमा फस्टाएको छ ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु