गृहपृष्ठ मस्जिदमा गोली प्रहार गरी चार जनाको हत्या
मस्जिदमा गोली प्रहार गरी चार जनाको हत्या
अफिगानिस्तान- अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । गोलीकाण्डमा अन्य पाँचजना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता तालिब मङगालले जानकारी दिए ।
खोस्त प्रान्तको मनदोजायी जिल्लाको लालमायी इलाकाको कमाल खिल मस्जिदमा बुधबार साँझ आतङ्ककारी समूहले गोली प्रहार गरेका थिए । साँझको प्रार्थनाका लागि मस्जिदभित्र बसेका व्यक्तिलाई गोलीको सिकार बनाइएको प्रवक्ता मङगालले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि लिएको छैन । तर, आक्रमणमा तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१७ मा तीन हजार ४३० सर्वसाधारणले ज्यान गुमाएका छन् भने सात हजारभन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघीय मिसनले प्रकाशित गरेको एक प्रतिवेदनमा उल्लेख छ । (रासस)
प्रकाशित समय : २३:१९ बजे


















