global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कर्णाली सरकारको रातो किताबको रहस्य खुल्यो

कर्णाली सरकारको रातो किताबको रहस्य खुल्यो

कर्णाली सरकारको रातो किताबको रहस्य खुल्यो

सुर्खेत– कर्णाली प्रदेश संसद बैठक बिहीबारदेखि नै अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्षी दलका सांसद जीवनबहादुर शाहीले ‘सरकारले रातो किताब किन ननिकालेको ?’ लगायतका प्रश्न उठाउँदै बैठक अवरुद्ध गरेका थिए ।
प्रतिपक्षीले संसद चल्न नदिने भन्दै रोस्ट्रम घेरेपछि आधा घण्टाका लागि बैठक स्थगित गरियो तर पछि पुनः बैठक सञ्चालन हुन सकेन । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको दशौं बैठकमा प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री प्रकाश ज्वालाले रातो किताब बजेट कार्यान्वयन हुन नसकेकाले नआएको जवाफ दिए । ‘हामी सिक्दै छौं । कर्णाली सरकारले असार अन्तिममा बजेट सक्ने प्रवृत्तिको अन्त्यको योजना राखेको छ,’ उनले भने, ‘हतारमा ल्याएको आर्थिक वर्ष २०७४÷७५ को बजेट कार्यान्वयन नहुने भएपछि रातो किताबको अर्थ नभएकाले हामीले रातो किताब नल्याएका हांै ।’
शाहीले कर्णाली रारा पर्यटन वर्षका खर्चको विवरणसमेत माग गरेका थिए । रारा पर्यटन वर्षको खर्चसमेत अर्थमन्त्री ज्वालाले संसदमा सार्वजनिक गरिसकेका छन् । कर्णाली रारापर्यटन वर्षको खर्च विभिन्न शीर्षकमा ६३ लाख ८१ हजार ७ सय ९५ रुपैयाँको विवरण बैठकमा प्रस्तुत गरिएको थियो ।
सांसदहरुले जनप्रतिनिधिको हत्यारालाई कारबाहीको मागसमेत गरेका छन् । गत जेठ १९ गते राति नरहीनाथ गाउँपालिका–९, कालीकोटकी वडा सदस्य मना सार्कीको हत्या भएको थियो । मनाको हत्यामा संलग्नलाई सरकारले छानबिन गरी यथासक्य कारबाही गर्न सांसदहरुले सरकारसँग माग गरे । बैठकको विशेष समयमा सांसद कौशिलावती खत्रीले जनप्रतिनिधिको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताइन् । ‘कालीकोटमा जनप्रतिनिधिको बीभत्स हत्या भएको छ । त्यसप्रति हामी जनप्रतिनिधि स्तब्ध भएका छौं । अब सरकारले जनप्रतिनिधिको सुरक्षाको ग्यारेन्टी लिनुपर्छ,’ उनले भनिन् ।
सांसदहरु अम्मरबहादुर थापा र कर्मराज शाहीले पनि मना सार्कीको हत्यारालाई हदैसम्मको कारबाहीको माग गरे । सांसद दानसिंह परियारले मना सार्कीको हत्यारालाई कारबाही गरी मृतकलाई सहिद घोषणा गर्न कर्णाली सरकारसँग माग गरे ।
सांसद पद्मा खड्काले महिलाहरु अहिले पनि असुरक्षित भएको भन्दै जातीय विभेदपूर्ण ढंगबाट मनाको हत्या भएकाले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । संसदमा बोल्ने सबै सांसदहरुको प्रमुख एजेन्डा नै बन्यो– मना सार्कीको हत्याकाण्ड । गत जेठ १९ गते राति करिब ८ बजेतिर पानी छोएको भन्दै हत्या गरेको आरोपमा दुई युवतीलाई मृतकका छोराले किटानी जाहेरी गरेका छन् ।
कर्णाली सरकारले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि विभिन्न कारणवश शनिबार (आज) मात्र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्ययोजना रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु