global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘सञ्चारमाध्यमबाटै महिला सांसदलाई उपेक्षा’

‘सञ्चारमाध्यमबाटै महिला सांसदलाई उपेक्षा’

‘सञ्चारमाध्यमबाटै महिला सांसदलाई उपेक्षा’

काठमाडौं– महिला सांसदहरुले आफ्नो आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमले बेवास्ता गर्दा महिलाको आवाज संसदभित्रै सीमित भएको भन्दै उनीहरुले महिला सांसदका विचारलाई सार्वजनिक गर्न विशेष व्यवस्था गर्न समेत गरे ।
संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरेको कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुले संसदमा व्यक्त गरेका विचार पनि महत्वपूर्ण हुने गरेको बताइन् ।
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले पनि महिला सांसद र सञ्चारकर्मीको समन्वयमा जोड दिइन् । सीमित नेताहरुको भाषणमात्रै समाचार बन्ने गरेको कांग्रेस सांसद उमा रेग्मीले गुनासो गरिन् । ‘तीन दशकमा सञ्चारमाध्यमहरुको संख्या यति धेरै बढेको छ,’ २०४८ मा समेत निर्वाचित कांग्रेस सांसद रेग्मीले भनिन्, ‘तर महिला सांसदका विचार उतिबेलामा जत्ति पनि आउँदैनन् ।’ उनले आफ्नो दायरालाई फराकिलो बनाउन सञ्चारकर्मीलाई आग्रह गरिन् । ‘समाचारहरु हेर्दा संसदमा २० जनामात्रै नेता छन् भन्ने भान हुन्छ,’ उनले भनिन्, ‘महिलाले जति राम्रो बोले पनि प्राथमिकतामा नै पर्दैनन् ।’
यस्तै नेकपा सांसद रामकुमारी झाँक्रीले ३३ प्रतिशत रहेका महिला सांसदका समाचार सञ्चारमाध्यममा केही प्रतिशत पनि आउन नसकेको बताइन् । ‘व्यक्तित्व नभई समाचार नबन्ने, समाचार नआएसम्म व्यक्तित्व नहुने,’ सञ्चारमाध्यम महिलामैत्री हुन नसकेको गुनासो गर्दै उनले भनिन्, ‘अनुभव नभई जागिर नपाउने, जागिर नपाइकन अनुभव नहुनेजस्तै भयो ।’ कांग्रेस नेतृ प्रमिला राईले आकर्षक र पत्रकारसँग नजिक रहेका सांसदको आवाजमात्रै सञ्चारमाध्यममा समाचार बन्ने गरेको गुनासो गरिन् । ‘महिला सांसदले पुरुषजत्तिकै बोल्न सक्दैनन् भन्ने भ्रम सञ्चारमाध्यमलाई देखिन्छ,’ उनले भनिन्, ‘अब सोच बदल्ने बेला आएको छ ।’
नेकपाकी विमला बिकले संसदमा महिला सांसदहरुले उठाएका मुद्दाहरुलाई सञ्चारमाध्यमले सार्वजनिक नगर्दा जटिल विषयहरु पनि आउन नसकेको बताइन् । ‘हामी काठमाडौंका लागि नयाँ हौं, हाम्रो अनुहार नै नयाँ छ,’ बर्दियाबाट समानुपातिक प्रतिनिधित्व गरेकी बिकले भनिन्, ‘चर्को आलोचना र कटु वचन नबोली मिडियाको नजरमा परिएन ।’
यस्तै नेकपाकी सांसद पम्फा भूसालले पुरुषको तुलनामा महिला सांसदलाई सम्बन्ध विस्तारमा कठीनाई हुने बाध्यता बुझिदिन आग्रह गरिन् । सांसद निरा जैरुले महिला सांसदहरुले राजनीतिकभन्दा पनि सामाजिक न्यायका पक्षमा संसदमा अभिव्यक्ति दिने गरेको बताउँदै सञ्चारमाध्यमले चासो नदिंदा ओझेलमा परेको बताइन् ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु