गृहपृष्ठ लोकतान्त्रिक विचारधारा राख्ने पार्टी एक हुनुपर्छ : गोपालमान श्रेष्ठ
लोकतान्त्रिक विचारधारा राख्ने पार्टी एक हुनुपर्छ : गोपालमान श्रेष्ठ
नेपाली विद्यार्थी संघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशन राजधानीमा सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको अधिवेशनको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले उद्घाटन गरे ।
नेता श्रेष्ठले पार्टीले पराजय भोगेको अवस्थामा एक–आपसमा गालीगलौजमा उत्रनुभन्दा पनि कमी–कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले निर्वाचनमा २ पार्टी एक भएर चुनाव लडेको र आफ्नैबाट समेत अन्तर्घात भएकाले कांग्रेसले पराजय भोग्नुपरेको जिकिर गरे ।
‘एमाले र माओवादी एक्ला–एक्लै चुनाव लडेको भए माओवादीले १० सिट पनि जित्ने थिएन,’ उनले भने, ‘कम्युनिस्टहरु एक भए जस्तै अब लोकतान्त्रिक विचारधारा राख्ने अन्य साना दललाई पनि अब एकजुट बनाउन कांग्रेसले भूमिका खेल्नुपर्छ ।’
कार्यक्रममा कांग्रेस युवा नेता धनराज गुरुङले बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुको मागर्दशन बिर्संदा पार्टीले पराजय भोग्नुपरेको बताए । ‘कांग्रेसले कृष्णप्रसाद भट्टराईको सदाचारिताको पदचापलाई नपछ्याएर यो अवस्था भोग्नुपर्याे,’ उनले भने, ‘अब फेरि त्यही गल्ती दोहोर्याउन कुनै कांग्रेस नेतालाई छुट छैन ।’
पूर्व संविधानसभा सदस्यसमेत रहेका गुरुङले कांग्रेस राष्ट्रियताका मुद्दामा प्रस्ट बन्न नसकेको आरोप लगाए । बालकृष्ण ढुंगेलका विषयमा संसदमा प्रतिपक्षको हैसियतले कांग्रेसले जति आवाज उठाउनुपर्ने हो, त्यति नउठाएको उनको भनाइ छ । उनले कांग्रेस प्रतिपक्षमा रहेर पनि शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए ।
कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले निर्वाचनमा हारको दोष सबै नेताहरुले लिनुपर्ने भन्दै स्याङ्जामा चुनाव हारेको जिम्मेवारी लिन आफू तयार रहेको बताए । हालसालै सरकारलाई समर्थन गरेका उपेन्द्र यादवप्रति संकेत गर्दै उनले आफ्नो स्वार्थ र जायज वा नाजायज माग पुरा गर्न मात्र सरकारमा गएको आरोप लगाए ।
संविधान बनेलगत्तै संविधान जलाउने उपेन्द्र यादव र संविधानमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन भन्ने ओलीबीचको सत्ता समीकरणले देशलाई गम्भीर दुर्घटनामा फसाउन सक्ने उनको ठहर छ ।
२०७० सालमा दिपक न्यौपानेको संयोजकत्वमा स्थापना गरिएको यस स्याङ्जा–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयनका लागि जिल्ला तथा केन्द्रीयस्तरका नेताहरुको एक टिम बनाइएको छ, जसले ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रकाशित समय : १४:३३ बजे



















