गृहपृष्ठ जनताको मन जित्ने गरी काम गर्नुस् : प्रधानमन्त्री
जनताको मन जित्ने गरी काम गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने जिम्मेवारी आएका बेला यो जिम्मेवारी पूरा गर्ने गरी लाग्न सबैलाई आग्रह गरेका छन् । शनिबार प्रदेश १ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो बेला जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिसहित जिम्मेवार सबै पक्षलाई सुझाव दिए ।
‘चुुनाव अघि देश वनाउछुु भनेर जनतासंग गरेको संकल्पलाई पुुरा गर्ने समय हो, जिम्मेवार भएर जिम्मेवारी पुरा गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले जनता र देशका लागि काम गर्दा भ्रष्टाचारको कुनै सम्भावना नहुने तर्क गर्दै उनले कसैले गरे अनुहार हेरेका भरमा नछोडिने चेतावनीसमेत दिए ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनितिक अधिकारको लडाइँ समाप्त भएको छ, अबको एजेन्डा विकास र सुुशासन कायम गर्नुु हो, त्यसमा सबै गम्भीरतापूर्वक लाग्नुपर्छ ।’ प्रदेश १ आर्थिक, सामाजिक र भौगोलिक सबै दृष्टिले सम्पन्न रहेको भन्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको अभियानलाई सार्थक बनाउन यही प्रदेशले अगुवाइ गर्नुपर्ने बताए ।
प्रदेश १ मा विश्वकै अग्लो सगरमाथादेखि आठ हजार मिटरभन्दा बढी उचाइको हिमशृंखला, अथाह जल भण्डार, औषधीजन्य प्रजातिका अधिकांश वनस्पतिलगायतका महत्वपूर्ण सम्पदा रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यहाँ विकास गर्न गाह्रो छैन, सम्भावनालाई कार्यक्रम बनाएर योजनामा ढाल्न आवश्यक छ ।’
यस्तै प्रधानमन्त्री ओलीले सीमामा देखिने विवादलाई सधैका लागि अन्त्य गर्ने गरी काम भइरहेको बताए । विशेषगरि भारतीय सीमा क्षेत्रमा समय समयमा देखिने विवाद अन्त्यका लागि भारतसँग विभिन्न चरणमा कुराकानी गरिने र समस्या समाधान गर्ने बताए ।
सीमा क्षेत्रमा बाटो बनाउने, पुल बनाउने, बाँध बनाउने नाममा विवाद हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘विवाद समाधानका लागि कहाँ–कहाँ र के–के भूमिका खेल्नुपर्ने हो हामी खेल्छौं ।’ सीमामा भारतीय सुरक्षाकर्मी र नेपाल पक्षबीच भइरहेका अस्वाभाविक क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेका प्रधानमन्त्री ओलीले भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि आक्रमण भएको, धम्क्याएको जस्ता कुरा आउनु राम्रो नभएको बताए ।
यसअघिको सरकारले ठेक्का–पट्टामा जथाभावी रकम दिएर देशको अर्थतन्त्रलाई धाराशायी बनाएको आरोप लगाएका प्रधानमन्त्री ओलीले वर्तमान सरकारले ति गल्तिहरुलाई सच्याएर अघि बढ्ने बताए । ‘सरकार भनेको शासन गर्न हैन सेवा गर्न हो,’ उनले भने,‘ विकास कसरी गर्न सकिन्छ त्यसको योजना, नीति कार्यक्रम बनाएर देशलाई अगाडि बढाउने, सुशासन कायम गर्ने तिर यो सरकार लागेको छ ।’
यस्तै प्रधानमन्त्री ओलीले सरकार प्रतिपक्षलाई पेलेर नभई समेटेर अघि बढ्ने पक्षमा रहेको जिकिर गरे । दुई तिहाइको दम्भ देखाएर सरकार निरंकुश बन्दै गएको टिप्पणी आइरहेका बेला उनले प्रतिपक्षलाई पेल्ने सरकारको कुनै योजना नरहेको बरु प्रतिपक्षलाई साथ लिएर देशलाई समृद्धिको दिशामा अघि बढाउने सोचमा रहेको दावी गरे ।
प्रकाशित समय : १४:५२ बजे



















