global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ इपिजीको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

इपिजीको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

इपिजीको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को साझा प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । दुई देशकाबीचका सन्धी सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध समूहको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।

प्रबुद्ध समूहले तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइँदै छ । तयार प्रतिवेदनमा कस्ता विषयहरु उल्लेख छन् भन्ने जनताले जान्न पाउनुपर्ने भन्दै कांग्रेसले सार्वजनिक गर्नुपर्ने माग गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले आमजनताको चाहना बमोजिम प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए । ‘प्रतिवेदनमा के छ भन्ने आमजनताको चासो हो ।’ न्युजकारोबारसंग खाँडले भने ‘यसको सम्बोधन हुनुपर्छ ।’ प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले प्रतिवेदनमा के छ भन्ने अहिल्यै सार्वजनिक गर्न नमिल्ने जानकारी दिए । ‘प्रतिवेदन दुबै देशका प्रधानमन्त्रीलाई बुझाइँदै छ ।’ भट्टराईले भने ‘त्यो भन्दा अगाडि सार्वजनिक गर्न मिल्दैन ।’

सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको प्रबुद्ध समूहको कार्यकाल दुई वर्ष तोकिएको थियो । जस अनुसार यही असार २० गते यसको समयसीमा सकिँदैछ । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म पाँच वटा बैठक नेपालमा र चार वटा बैठक भारतमा सम्पन्न भएका छन् ।
बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धी, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै देशका राष्ट्रिय हित लगायत विषयमा छलफल भएका जनाइएको छ । द्वीपक्षीय सम्बन्ध, नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नविकरण, तिनको परिमार्जन र सुधारका निम्ती सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन भएको हो ।

प्रबुद्ध समूहमा नेपाली समूहका संयोजक डा. भेषबहादुर थापा रहेका छन् । उक्त समूहको सदस्यहरुमा डा. राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्व सचिव सूर्यनाथ उपाध्याय छन् । त्यसै गरी उक्त समूहको भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी रहेका छन् । त्यस्तै भारततर्फका सदस्यहरुमा पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती छन् ।

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु