गृहपृष्ठ बलात्कार प्रकरणले उग्ररूप लियाे
बलात्कार प्रकरणले उग्ररूप लियाे
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको उखुबारीमा बलात्कारपछि भएको हत्या प्रकरणलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित स्थानीयले भीमदत्त नगरपालिकाको मूल गेटमा दिनभरी टायर बालेर प्रर्दशन गर्दै भित्र जान खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा परि दुई प्रहरी सहित दर्जनौं स्थानीय घाईते भएका छन् । दिउँसो १ बजेतिर नगरपालिकाको मुल गेटमा प्रर्दशन गर्न आएका आन्दोलनकारीलाई प्रहरीले पाँच घण्टापछि तितरवितर बनाएको थियो । भीड नियन्त्रण लिने क्रममा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट दुई प्रहरी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले प्रहरी हवल्दार केशव दत्त भट्ट र जवान दान सिंह धामी घाईते भएको बताए । आन्दोलनकारीतर्फ भने दर्जनौं घाईते भएका छन् । प्रहरीले भीड तितरवितर पार्नका लागि एक दर्जन आश्रुग्याँस प्रहार गरेको थियो ।
भागदौड र प्रहरीले लाठि चार्ज गर्दा दर्जनौं स्थानीय घाईते भएका थिए । घाईते प्रहरीको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । यस्तै प्रहरीले एक पुरुष सहित ५ जना महिला लाई नियन्त्रणमा लिएको छ ।
स्थानीयले घटनास्थलमा प्रहरी बिट राख्नुपर्ने, दोषिलाई कारबाही गरिनुपर्ने माग राख्दै दिनभर महेन्द्रनगर बजारमा प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका थिए । झण्डै दुई घण्टा पूर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गराएका प्रर्दशनकारीले घटनाको सत्यतथ्य छानविन नहुन्जेल आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
मृतक निर्मलाको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दोषिलाई नपक्रिउन्जेलसम्म शव नबुझ्ने स्थानीयको चेतावनी छ । शुक्रबार बिहान निम्बुखेला खोला सडकमा निर्मलाको साईकल, कापी र अम्बा फेला परेपछि स्थानीयले खोला नजिकै रहेको उखुबारीमा शव भेटिएका थिए । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक निर्मलाका साथी रोशनी बमले दिउँसो ११ः१५ मा निर्मला घरबाट आफ्नो घर आएको बताईन् । ‘दुवैले होमवर्क गरे, मैले उनलाई अब्बा दिएर घर पठाएको थिएँ,’ रोशनी बमले भनिन्, ‘आज उनी मृत अवस्थामा फेला परेको कुरा सुन्दा डर लागिरहेको छ ।’
प्रकाशित समय : ०१:३६ बजे


















