गृहपृष्ठ पाकिस्तानका केही पार्टीद्वारा चुनावी नतिजा बहिस्कार
पाकिस्तानका केही पार्टीद्वारा चुनावी नतिजा बहिस्कार
पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा केही पार्टीले मत परिणामलाई अस्वीकार गरेका छन् । पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने मत परिणामले देखाएको छ । तर, प्रतिद्वन्द्वी दलहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको बीबीसीले उल्लेख गरेको छ । धेरैजसो मतगणना भइसक्दा खानको पार्टीले राष्ट्रिय सभाको २७२ स्थानमध्ये ११५ मा अग्रता लिएको छ, जुन ६४ सीटमा अग्रता लिएको पूर्व सत्तारुढ पीएमएल–एन भन्दा निकै अगाडि हो । तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ४३ सीट जितेको छ । बिलावल हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । बहुमतका लागि जम्मा १ सय ३७ सीट आवश्यक पर्छ र प्रधानमन्त्री हुने बाटोमा देखिएका इमरान खानले गठबन्धन सरकार बनाउनुपर्ने देखिन्छ ।
प्रतिद्वन्द्वी पार्टीहरूको संयुक्त छलफलपछि इस्लामाबादमा एक पार्टी नेताले आफूहरू पुनः निर्वाचनको माग गर्दै आन्दोलन गर्ने बताएका छन् । यसअघि आफू विपक्षमाख बस्न तयार रहेको बताएको पूर्व सत्तारुढ दल पीएमएल–एनले पनि निर्वाचन बहिष्कार गरेको छ ।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भइ जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफले पार्टीले संसद् बहिष्कार गर्ने वा नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् । पत्रकार सम्मेलनमा शरिफकै छेउमा बसेका एमएमए पार्टीका नेता तथा प्रवक्ता मौलाना फजालुर रहमानले फेरि निर्वाचन गराउनका लागि आफूहरू आन्दोलन गर्ने र प्रदर्शनहरू हुने बताएका छन् । एक दर्जनभन्दा बढी पार्टीका नेताहरूले चुनावपछि एउटा संयुक्त रणनीति बनाउनका लागि उक्त पत्रकार सम्मेलन गरेका थिए ।
प्रकाशित समय : १३:३१ बजे


















