global ime bank Long Banner Ad

गृहपृष्ठ ओलीको प्रस्ताव डा. केसीले गरे अस्वीकार

ओलीको प्रस्ताव डा. केसीले गरे अस्वीकार

ओलीको प्रस्ताव डा. केसीले गरे अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा. गोविन्द केसीसमक्ष प्रस्ताव गरेका छन् । १५ औं अनसनपछि आफ्ना माग पूरा गर्न पहलकदमी लिएकोमा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका केसीलाई ओलीले सो प्रस्ताव राखेका हुन् ।

आफू प्रधानमन्त्री भएका बेला अनसन बस्नु आवश्यक नरहेको ओलीले बताए । ‘जनताको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाऔँ’ ओलीले भने ‘त्यसको कमाण्ड तपाईं सम्हाल्नुस्, दुर्गमका जनताको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।’

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य चिकित्सक र प्रशासकहरु रहेको केसीले बताए । ‘म त्यस्तो संयन्त्रमा बस्न चाहान्न, बाहिरै बसेर काम गर्छु, अन्य योग्य ब्यक्ति धेरै हुनुहुन्छ’ केसीले भने । प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको बताए ।

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनु पर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताए । प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न केसीलाई आग्रह गरे । ‘तपाईंहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन’ प्रधानमन्त्रीले भने ‘चिकित्सा शिक्षा क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिबद्ध छु ।’

प्रकाशित समय : २३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु