global ime bank Long Banner Ad

गृहपृष्ठ बेलकामा आन्दोलन हुने सम्भावना बढ्दै, यस्तो छ कारण

बेलकामा आन्दोलन हुने सम्भावना बढ्दै, यस्तो छ कारण

बेलकामा आन्दोलन हुने सम्भावना बढ्दै, यस्तो छ कारण

उदयपुरको बेलका नगरपालिकामा भूमिहीन सुकुम्बासीको समस्या गहिरिँदै गएको छ । स्थानीय निर्वाचनअघि समस्या समाधान गरिदिने भन्दै भोट मागेका स्थानीय जनप्रतिनिधिले अन्य दुई तहको निर्वाचन सकिँदासम्म चासो नदेखाएको भन्दै नगरपालिकाका भूमिहीन सुकुम्बासी आक्रोशित बनेका छन् ।

कुल क्षेत्रफल १ सय ३४ दशमलव ३ वर्गपकिलोमिटर रहेको नगरपालिकामा ४२ हजार ३ सय ८६ जनसंख्या रहेको छ । यस नगरपालिकामा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात करिब ५५ प्रतिशत भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको छ । यद्यपि, भूमिहीन सुकुम्बासी कति छन् भन्ने विवरण अहिलेसम्म नगरपालिकाले पनि तयार पार्न सकेको छैन ।

भूमि, कृषि र किसान जहिले पनि राजनीतिक परिवर्तनको लागि मुख्य मुद्दा बने । किसानहरूकै बल तथा सहभागितामा परिवर्तन पनि सम्भव भए । विडम्बना यही मुद्दामा टेकेर बनाएर चुनाव जितेका जनप्रतिनिधि अहिले आफूहरुको समस्यामा चिन्तित नदेखिएको भूमिहीन सुकुम्बासीको गुनासो छ । वेलका नगरपालिकामा बढी सुकुम्बासी रहेको वडामध्ये ९ नम्बर वडा एक हो । यस वडामा अनुमानित ६ सय परिवार भूमिहीन सुकुम्बासी रहेका छन् ।

अर्को, रोचक पक्ष फेरि, यही वडामा नगरपालिकाका वडाअध्यक्ष प्रतिद्धन्द्धीमध्ये मतान्तरमा दोब्बर मतले विजयी भएका वडाअध्यक्ष मोहन घिमिरे छन् । उनले निर्वाचनअघि आफू विजयी भए भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न पहल गर्ने बाचा गरेका थिए । तर, अहिले उनले पनि आफ्नो बाचाअनुसारको काम गर्न नसकेको भन्दै भूमिहीन सुकुम्बासी असन्तुष्ट छन् । उनले निर्वाचित भएको ६ महिनापछि भूमिहीन सुकुम्बासी कति छन् भन्नेबारे लगत संकलन भइरहेको बताएका थिए । तर, सुकुम्बासी भने आफूहरुसम्म नगरपालिकाले खटाएका कुनै पनि कर्मचारी नआएका बताउँछन् ।

अन्य वडामा पनि यो समस्या गहिरिँदो छ । भूमिअधिकारबाट वञ्चित बेलकाका किसान तथा सुकुम्बासीको समस्या समाधानमा जनप्रतिनिधिसँगै राज्य पनि गम्भीर बन्नुपर्ने स्थानीय पत्रका विष्णु आचार्य बताउँछन् । अन्यथा, यहाँ भूमिहीन सुकुम्बासीको समस्याले कालान्तरमा ठूलै रुप लिन सक्ने उनको भनाइ छ ।
बेलका नगरपालिका
बेलका नगरपालिका प्रदेश नम्बर १ अन्तर्गत उदयपुर जिल्लाको पूर्वी सीमानामा अवस्थित नगरपालिका हो । साविकका मैनामैनी, कटुञ्जेबबला, रामपुर ठोक्सिला र तपेश्वरी गाउँ विकास समिति सम्मिलन भइ स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले सिफारिस गरेको आधारमा २०७३ फाल्गुन २७ गतेदेखि बेलका नगरपालिकाको रुपमा सञ्चालनमा आएको छ । बेलका नगरपालिकाको केन्द्र रामपुर बजारलाई मानी नौ वटा वडाहरुमा विभाजन गरिएको छ । यो नगरपालिकामा बसाई सराई गरी आउने क्रम तीव्र रहेको हुँदा यसक्षेत्रमा तीव्र रुपमा बस्ती विस्तार र जनसंख्या वृद्धि भइरहेको छ ।

प्रकाशित समय : २३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु