global ime bank Long Banner Ad

गृहपृष्ठ टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

 

ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिएका छन् ।

टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले आइतबार आयोजना गरेको ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रम’मा उपप्रधानमन्त्री ईश्वर पोखरेलले टोखाको विकासमा सबै एकजुट हुनुपर्ने बताए । ‘निर्वाचनको बेला राजनीति गरौं, संस्कृति संरक्षण र टोखाको समग्र विकासका लागि एकजुट बनौं,’ उनले भने ।

सोही क्षेत्रका सांसदसमेत रहेका रक्षामन्त्री पोखरेलले टोखाको समग्र विकासका लागि एकीकृत योजना आवश्यक रहेको उल्लेख गरे । ‘टोखाको विकासका लागि एकीकृत योजना प्रस्तावका रुपमा ल्याउनुहोस, उक्त योजनाको सम्बोधनको बाटोमा म लाग्नेछु,’ उनले भने । टोखामा पूर्खाले बनाएको इतिहासको रक्षा गर्दै भविष्यका सन्ततिका लागि गर्व हुने काम गर्नुपर्ने मन्त्री पोखरेलको जोड थियो ।

अभिनन्दित शताब्दी पुरुष जोशीले टोखा संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने उत्तम थलोका रुपमा रहेको बताए । ‘उपत्यकाको सांस्कृतिक सम्पदाको विकासमा टोखाले महत्वपूर्ण भूमिका खेलेको छ,’ जोशीले भने ।

उनले मेचीदेखि महाकालीसम्मका सांस्कृतिक विविधतालाई एकतामा रुपान्तरण गर्न सके संस्कृतिको विकास र विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘मैले पाएको सम्मान नेपालको संस्कृति र मौलिक कलाको विकासका निम्ति हो,’ जोशीले भने ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले विभिन्न योजना बनाएर अगाडि बढेको जानकारी दिए । वि.सं. २०७५ असार १० मा नगरपालिकाको नीति तथा कार्यक्रममा टोखालाई सांस्कृतिक संरक्षण क्षेत्र घोषणा गरिएको बताउँदै यसलाई नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो रहेको उनको भनाई थियो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखाभित्रका तलेजु, मुस्कानेश्वर महादेव र नारायण मन्दिरको पुनःनिर्माणका लागि विभागले सहयोग गरिसकेको बताउँदै अन्य पुरातात्विक सम्पदाको पुनःनिर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मञ्चका अध्यक्ष मनिराज डङ्गोल, टोखा–२ का वडाध्यक्ष दीपकराज जोशी, समाजसेवी हीराकाजी महर्जनलगायतले टोखाको महत्व सरकारले बुझ्न नसक्दा अरु क्षेत्रको तुलनामा पछाडि परेको दावी गरे ।

सो अवसरमा टोखा क्षेत्रको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको थियो । पुरातात्विक महत्वले धेरै पुरानो रहेको टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो । यहाँ पिगंण धः, नारायण मन्दिर, शिलास्तम्भ, गणेश मन्दिर, भीमसेन मन्दिर, संकटा माई, चण्डेश्वरी मन्दिर, माथेश्वर मन्दिरलगायत पुराना मठमन्दिर छन् ।

यस्तै कुमारी घर र विभिन्न समयमा मनाइने जात्राले पनि टोखा सांस्कृतिक रुपमा धनी मानिन्छ । बूढानीलकण्ठ नजीक धोबीखोलामा फेला परेको ३० हजार वर्ष पुरानो पाषाण उपकरणले पनि टोखा वरिपरिको क्षेत्रमा प्राचीन कालदेखि नै मानवबस्ती भएको अनुमान गर्न सकिन्छ । शिवदेव र अंशुवर्माको संयुक्त शासनकालमा जारी गरिएको संवत् ५१९ को शीलालेखअनुसार त्यतिबेला मानव बसोबासस्थल र मानव जीविकोपार्जनका लागि अत्यावश्यक कुलो र सुरक्षाचौकीसमेत व्यवस्था गरिएको उल्लेख छ ।

-रासस

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु