गृहपृष्ठ वीरेन्द्रनगरले ९ सय ८५ हिमाली भेगमा पठायो
वीरेन्द्रनगरले ९ सय ८५ हिमाली भेगमा पठायो
वीरेन्द्रनगर नगरपालीकाले आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ९ सय ८५ गाईहरु हिमाली क्षेत्रका विभिन्न ठाँउमा पठाएको बताएको छ । सडकमा दिनहुँजसो देखीने छाडापशुहरुलाई व्यवस्थापन गर्ने अभियान अन्तर्गत गाईहरु हिमाली क्षेत्रमा पठाईएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए ।
‘वीरेन्द्रनगर नगरपालिकाको सबैभन्दा ठूलो समस्या छाडा पशु पनि हो,’ पौडेलले भने, ‘त्यसैले सडकका छाडा पशु व्यवस्थापनको लागि र ती गाईहरुलाई याकसँग क्रस गराई उन्नत जातका बाच्छाबाच्छी उत्पादनको लागि हिमाली क्षेत्रमा पठाएको हो ।’
हुम्लाको खर्केघाट गाँउपालिका र वीरेन्द्रनगर नगरपालिकाको सम्झौतामा ती गाईहरु पठाईएको समेत पौडेलले जानकारी दिए । पौडेलका अनुसार अझै सडकमा छाडा पशुहरु देख्न सकिने र अझै व्यवस्थापनमा नगरपालिकाले पहल गर्नुपर्ने देखिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको बराहताल गाउँपालिका २ रानीघाटमा करिब १ सय पशु क्षमताको गौशाला निर्माण गरी नगरका छाडा पशु व्यवस्थापन गर्ने योजना त छ । तर, अझै त्यसको कार्यान्वयन हुन सकेको छैन ।
गौशालाको निर्माण कार्य जारी नै रहेको वीरेन्द्रनगर नगरपालीकाले बताउँदै आएको छ । उता वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देवकुमार सुवेदीले अब छिटै नगरका छाडा पशुहरु गौशालामा लगेर राखिने बताएका छन् ।
‘बराहताल २ को रानीघाटमा गौशालको निर्माण कार्य हुँदैछ । अब छिटै नगरका छाडा पशुहरु व्यवस्थापन गरिने छ ।’ त्यसबाट अर्गानिक मलको उत्पादन गर्नेसमेत योजना रहेको सुवेदीको भनाई छ । कर्णाली प्रदेशको राजधानीलाई शुन्दर तथा सफा राख्न र सडक दुर्घटना न्युनीकरण गर्न छिटो भन्दा छिटो सडकका छाडा पशुहरु व्यवस्थापन गर्ने कुरामा वीरेन्द्रनगर नगरपालीकाले अझै पहल गर्नुपर्दछ ।
प्रकाशित समय : ००:३६ बजे



















