global ime bank Long Banner Ad

गृहपृष्ठ बेलका नगरपालिका : ‘उपप्रमुख र वडा अध्यक्ष प्रकरण’मा छानबिन सुरु

बेलका नगरपालिका : ‘उपप्रमुख र वडा अध्यक्ष प्रकरण’मा छानबिन सुरु

बेलका नगरपालिका : ‘उपप्रमुख र वडा अध्यक्ष प्रकरण’मा छानबिन सुरु

उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीमाथि कुटपिट र वडा नम्बर ४ का वडा अध्यक्ष दीपक दंगालमाथि भएको आक्रमण प्रयासबारे छानबिन गर्न गठित समितिले काम थालेको छ । नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले साउन २४ गते वडा नम्बर ९ का वडा अध्यक्ष मोहन घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । समितिमा वडा नम्बर २ का वडा अध्यक्ष मिश्रीलाल चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष जयकुमार राई सदस्य छन् ।

 

वडा अध्यक्ष दंगाल र उपप्रमुख चौधरी रामपुरस्थित चौधरीको डेरामा सँगै बसिरहेको अवस्थामा श्रीमान शिवराम चौधरीले उपप्रमुख चौधरीमाथि कुटपिट गरेका थिए भने दंगालमाथि आक्रमणको प्रयास गरेका थिए । दंगालले ज्यान जोगाउन भाग्नुपरेको थियो । सोहि घटना सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि छानबिनका लागि प्रमुख थापामाथि दबाब बढेको थियो । विपक्षी कांग्रेससहित राप्रपाले साउन २० गते उपप्रमुख र वडा अध्यक्षसँग जोडिएको घटनाबारे छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

 

घटना हुँदा काठमाडाैँमा रहेका मेयर थापाले नगरपालिका फर्किएको भोलिपल्टै अर्थात साउन २४ गते नै छानबिन समिति गठन गरेका थिए । छानबिन समिति २४ गते गठन गरिए पनि समितिका संयोजक घिमिरे विदामा रहेकाले उनले साउन २५ गतेमात्रै पत्र बुझेका थिए ।

 

२६ गते शनिबार भएकाले छानबिन समितिले २७ गते अर्थात आइतबारबाट काम थालेकाे समिति संयोजक घिमिरेले जानकारी दिए । ‘बेलका नगरपालिका ९ को कार्यालयमा आज हाम्रो पहिलो बैठक बसेको छ,’ छानबिन समितिका संयोजक घिमिरेले आइतबार न्युज कारोबारसँग भने, ‘आज घटनाबारे प्रारम्भिक छलफल भयो, भोलिदेखि छानबिनलाई तीव्रता दिन्छौँ ।’

 

निष्पक्ष छानबिनमा सहयोग गर्न सबैलाई उनले आह्वान पनि गरेका छन् । प्रतिवेदन बुझाउन समितिलाई १० दिनको समय दिइएको छ । उपप्रमुख चौधरी र वडा अध्यक्ष दंगाल भने १० दिनको विदामा छन् ।

 

उपप्रमुख चौधरीका श्रीमान शिवरामले आफूले मदिरा सेवन गरेको र लज्जास्पद आरोप लगाइ कुटपिट गरेको स्वीकार गरेका छन् । १८ गते नै इलाका प्रहरी कार्यालय रामपुरले उनलाई पक्राउ गरेको भए पनि ‘सामान्य घरझगडा’ भन्दै छाडिदिएको थियो ।

 

उपप्रमुख र वडा अध्यक्षलाई ‘लज्जास्पद’ आरोप लगाएर कुटपिट गर्ने शिवरामलाई उन्मुक्ति दिइएकाेप्रति कतिपय स्थानीयबासी आक्रोशित छन् । ‘४२ हजार जनताको प्रतिनिधिमाथि घिनलाग्दो आरोप लगाएर कुटपिट गर्ने व्यक्तिलाई त्यसै छाड्न हुन्छ ?,’ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा प्रश्न गरे,’ ‘कार्यालयको शिलशिलामा गफ गरिरहेको अवस्थामा कुटपिट गर्ने शिवराम कारबाहीको भागेदार हैनन् ?’

 

नगरपालिकाको न्यायिक समितिको प्रमुख चौधरी नै आफ्नो श्रीमानबाट पिटिँदा नागरिकस्तरमा न्यायको आशा न्युन भएको छ । ‘तर मेयर दुर्गाकुमार थापाले यो घटनालाई गम्भीर रुपमा लिँदै छानबिनमा अग्रसरता देखाउनुभएको छ,’ रामपुरका एक स्थानीयले भने, ‘यसलाई निकै सकारात्मक रुपमा लिनुपर्छ ।’

 

उपप्रमुख चौधरी भने सामाजिक सञ्जालमा घटनाबारे टिप्पणी गर्नेको पोस्ट तथा स्ट्याटस स्क्रीनसट र सञ्चारमाध्यममा आएको समाचार प्रिन्ट गरी मुद्दा हाल्न परामर्श गरिरहेकी बताइएको छ ।

प्रकाशित समय : ००:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु