निर्मला हत्या प्रकरण : काठमाडौं आएका आमा बुबाले राष्ट्रपति र प्रधानमन्त्री भेट्दै
वि.सं.२०७५ भदौ २७ बुधवार १७:४२
shares

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका आमा बुबा न्याय खोज्न काठमाडौं आएका छन् । छोरीको बलात्कारपछि हत्या भएको डेढ महिनासम्म पनि दोषीलाई पक्राउ नगरेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी काठमाडौं आएका हुन् ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिलीपसिंह बिष्ट निर्दोष रहेको पुष्टि भएपछि उनीहरु महिला अधिकारकर्मीको साथमा काठमाडौं आएका हुन् । डिएनए रिपोर्ट नमिलेपछि बिष्टलाई मुक्त गरिएको छ । बिष्टसँगै रोशनी बम र बबिता बम पनि रिहा भएका छन् । उनीहरु रिहा भएसँगै सो घटनाले फरक मोड लिएको छ ।
निर्मलाको वास्तविक हत्यारालाई जोगाउन राज्य नै लागिपरेहको निर्मलाको परिवारको गुनासो छ । निर्दोषलाई पक्राउ गरेर वास्तविकलाई जोगाउन राज्य नै लागेको निर्मलाका बुबा यज्ञराज पन्तले बताए । ‘कञ्चनपुरमा न्याय पाउन सकिएन त्यसैले काठमाडौ आएका हौं,अब राष्ट्रपति प्रधानमन्त्री लगायतका उच्च व्यक्तिसँग भेटेर न्याय माग्छौं’, काठमाडौं आएका यज्ञराजले भने ।
सरकारले घटान छानबिन गर्न गठन गरेको उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले पनि राजीनामा दिएका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका समिति सदस्य केसीले छानबिन समितिबाट निर्मलालाई न्याय मिल्न नसक्ने भन्दै राजिनामा दिएका थिए ।
गत साउन १० गते साथी रोशनीको घरमा गृहकार्य गर्न गएकी निर्मला भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

























