global ime bank Long Banner Ad

गृहपृष्ठ वारीबेनी-बाँसखर्क सडक अवरुद्ध

वारीबेनी-बाँसखर्क सडक अवरुद्ध

वारीबेनी-बाँसखर्क सडक अवरुद्ध

लगातारको वर्षाका कारण बुधबार साँझ कालीगण्डकी नदीमा आएको बाढीले बेनी–बगरफाँट–बाँसखर्क सडक अवरुद्ध भएको छ । म्याग्दी सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नं ३ स्थित वारीबेनीबाट बगरफाँट हुँदै बाँसखर्क जाने सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथिको कालीपुल नजिकैबाट बाँसखर्क जाने सडक पूर्णरुपमा कालीगण्डकीमा आएको बाढीले कटान गरेपछि सडक अवरुद्ध बनेको स्थानीय बासिन्दा कृष्ण जिसीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि जलजला गाउँपालिका वडा नं १ बाँसखर्क, वडा नं २ माँझफाँट र वडा नं ३ को बगरफाँट तथा वडा नंं ५ लेखफाँटका बासिन्दा यातायातको सुविधाबाट बञ्चित बनेका छन् । कच्ची सडकअन्तर्गत ढुङ्गा र जालीले बनाइएको सडक बाढीले पूरै भत्काएर लगेपछि सडक अवरुद्ध बनेको जलजला गाउँपालिका वडा नं ३ का अध्यक्ष रवि भण्डारीले बताए ।

उनका अनुसार झण्डै २० मिटर सडक पूर्णरुपमा भत्किएको छ । पानीको बहाब ठूलो भएकाले तत्काल मर्मत गर्ने सम्भावना नरहेको भण्डारीले जानकारी दिए । बाँसखर्कका सुन्तला उत्पादक कृषकले सुन्तला बिक्री गरेको पैसाले निर्माण गरेको सडक अवरुद्ध बने पनि उनीहरु चिन्तित बनेका छन् ।

सुन्तला ढुवानी गर्न छोटो र सहज होस् भन्ने उद्देश्यले विगत पाँच वर्षदेखि यो सडक सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि ठूलो खर्च लाग्ने देखिए पनि तत्काल मर्मत गर्न सकिने सम्भावना नरहेको उनको भनाइ छ । बाँसखर्कमा वार्षिकरुपमा रु पाँच करोडको सुन्तला उत्पादन हुँदै आएको छ ।

सडक बन्द भएपछि उक्त क्षेत्रका बासिन्दा पैदल हिँड्न बाध्य छन् । वर्षासँगै कालीगण्डकीमा आएको बाढीले जलजला गाउँपालिकाको वारीबेनी बजारका झण्डै १५० घरधुरी जोखिममा परेका छन् ।

बाढीपछि बिहीबार स्थलगत अनुगमन गरेर फर्किएका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नदी किनारका सबै घरधुरी जोखिममा रहेको बताए । नदी किनारमा लगाइएको बाँधसमेत बाढीले बगाइदिएपछि कटान बढ्दै गएकाले घर जोखिममा परेका छन् । प्रमुख जिल्ला अधिकारी ढकालले वर्षा निरन्तर भइरहेमा घरमा नबस्न स्थानीयलाई आग्रह गरेका छन् । रासस ।

प्रकाशित समय : ००:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु