गृहपृष्ठ इको टुरिजममा नेपाल विश्वकै नमुना गन्तव्य : विज्ञ
इको टुरिजममा नेपाल विश्वकै नमुना गन्तव्य : विज्ञ
विज्ञहरूले नेपाललाई इको टुरिजम (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको बताएका छन् । नेपालको पर्या–पर्यटनलाई व्यवस्थित ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक नेपाल भित्रिने उनीहरुले बताए ।
राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले नेपालको पर्यटन विकासका लागि दक्ष जनशक्ति अभाव रहेकाले पहिले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । अस्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रति अत्यन्त सकारात्मक सोच रहेको धारणा राखे । नेपालीहरु आफ्नै देशमा बसेर अस्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल भएको भन्दै उनले नेपाल र अस्ट्रेलियाबीच सरकारबीचको सम्बन्धजस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पुग्ने बताए ।
राजदूत बडले हाल अस्ट्रेलियामा ३० हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेको तथ्य उजगार गर्दै नेपालमै यस प्रकारको सीपमूलक अन्तर्राष्ट्रि«य मान्यताप्राप्त व्यावसायिक तालिम कार्यक्रम सञ्चालनका लागि गेट कलेजले गरेको पहलको सराहना गरे ।
कार्यक्रममा याक एन्ड यति होटलका महाप्रबन्धक मोनिका साइब्लरले नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव अहिले नै अनुभूति भइसकेको चर्चा गरिन् । भविष्यमा धेरै होटल नेपालमा आउने भएकाले त्यसका लागि दक्ष र सीपयुक्त जनशक्ति कसरी आपूर्ति गरिने भन्नेमा अहिलेबाटै तयारी गर्नुपर्ने बताइन् । महाप्रबन्धक साइब्लरले अन्तर्राष्ट्रिय योग्यता भएका दक्ष युवायुवतीलाई स्वदेशमै काम गर्न प्रेरित गर्नुपर्ने धारणा राखिन् ।
स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियर एलेक्स नुड्काभिचले नेपाल इको टुरिजमको नमुना गन्तव्य हुनसक्ने बताए । स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियरको सात जनाको टोली हाल नेपाल भ्रमणमा छ । एलेक्स उक्त टोलीकी नेतृ हुन् ।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेज नेपालमा यस प्रकारको तालिम दिने दक्षिण एसियाकै पहिलो कलेज भएको बताए । छोटो अवधिको प्राविधिक तथा व्यावसायिक तालिमले नेपाली युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्छ भने ठूलो परिमाणमा विदेसिने पैसालाई स्वदेशमै रोक्ने उनको दाबी छ । ‘फलस्वरुपः आर्थिक कारणले असमर्थ युवाले पनि स्वदेशमै रहेर अन्तर्राष्ट्रिय सीप हासिल गर्नसक्छन्, जुन उनीहरूको भविष्यको बाटो कोर्ने माध्यम बन्नसक्छ,’ लकाईंले भने ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त अस्ट्रेलियाको सरकारी संस्था टेफ (टेक्निकल एन्ड फर्दर एजुकेसन)को अन्तर्राष्ट्रिय योग्यताअनुकूलकोे एक वर्षे बहुआयामिक सीपमूलक प्रशिक्षण प्रदान गरिएको यो तेस्रो वर्ष हो । सो कोर्सअन्तर्गत तेस्रो ब्याचमा २२ जना दीक्षित भएका छन् । उक्त कोर्स टेफले तोकेकै पूर्वाधारअनुसार सञ्चालन हुँदै आएको छ ।
प्रकाशित समय : २२:४८ बजे



















