विराटनगरमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि दाउ प्रहार
वि.सं.२०७५ भदौ ५ मंगलवार १८:२१
shares

विराटनगर कार्यस्थलमा खटिएका सुरक्षा गार्डको हत्या भएको दुर्इ दिन नबित्दै फेरि अर्को आपराधिक घटना भएको छ । श्रीमानले श्रीमती, छोरी र अर्का एक जनालाई दाउ प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
घटनामा विराटनगर ११ पिचराकी ४० वर्षीया श्रीमती पुनम सहनी, छोरी २० वर्षीया मनिता सहनी र पुनमका भाइ २७ वर्षीय सन्दीप सहनी घाइते भएका छन् । केही समयअघि भागी विवाह गरेका सिराहा गोलबजार निवासी ४५ वर्षीय श्रीमान दिलीप सहनीले मंगलबार बिहान उनीहरुमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
विराटनगर पिचरास्थित घरमै बसिरहेको अवस्थामा बिहान साढे ९ बजे तीनैजना माथि दाउ प्रहार भएको थियो । घाइते तीनैजनाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये पुनमको देब्रे गाला पूरै काटिएको छ । उनको अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ । यस्तै मनिताको टाउको पछाडि दाउ प्रहार भएको छ भने सन्दिपको कुममुनि काटिएको छ ।
दाउ प्रहार गर्ने दिलीपलाई स्थानीयबासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको आशंकामा दाउ प्रहार गरेको दिलीपले बताएका छन् ।

























