गृहपृष्ठ रोहिग्यालाई म्यान्मार फर्काउने कुरा बंगलादेशको हातमा छ- सुकी
रोहिग्यालाई म्यान्मार फर्काउने कुरा बंगलादेशको हातमा छ- सुकी
आङ सान सुकीले बंगलादेशमा आश्रय लिइरहेका रोहिग्या शरणार्थीलाई म्यान्मार फर्काउन बंगलादेशको तत्परतामा निर्भर रहने बताएकी छन् । एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट ७ लाख भन्दा बढी रोहिग्या मुस्लिम समुदाय भागेर बंगलादेश प्रवेश गरेका थिए ।
गत नोभेम्बरमा दुबै मुलुकले उनीहरुलाई स्वदेश फर्काउने सम्झौतामा सहमति जनाएका तर त्यो सहमति अबरुद्ध भएको छ । गाउँका घरहरु जलाइएको, सैनिकबाट यातना दिइएको, हत्या गरिएको र बलात्कृत भएको तिनै स्थानमा फर्कन उनीहरु डराइरहेका छन् र म्यान्मारका सैनिकको त्रास पनि उत्तिकै छ ।
बंगलादेशले रोहिग्या समुदायको बसाई अस्थायी रहेको बताउँदै आएको छ, तर जबर्जस्ती फर्काउन चाहेको छैन । यो सङ्कटका बारेमा सार्वजनिक टिप्पणी नगरेकी नेत्री सुकीले सिंगापुरमा भनिन्, ‘सम्झौतामा उल्लेख भएबमोजिम स्वदेश फर्किने रोहिग्या समुदायलाई स्वागत गर्न म्यान्मार तयार छ ।’
‘हामी आफैँले एकतर्फी रुपमा समयसीमा तोक्न सकेका छैनौं किनभने हामीले बंगलादेशसँग पनि काम गर्नुपर्नेछ,’ म्यान्मारको लोकतान्त्रिक रुपान्तरणका विषयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, ‘बंगलादेशले पनि यो प्रक्रिया छिटो पूरा गर्न निर्णय गर्नु पर्दछ ।’
बंगलादेशको सीमावर्ती शहर कोक्स बजार आसपास आश्रय लिइरहेका रोहिग्याले पश्चिम म्यान्मारको रखाइन राज्यमा फर्कनुअघि सुरक्षाको प्रत्याभूति हुनुपर्ने र नागरिकताको अधिकार प्राप्त हुनुपर्ने माग गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले उनीहरुको फिर्तीका लागि परिस्थिति अनुकूल भइनसकेको जनाएको छ ।
अमेरिका र राष्ट्रसंघले म्यान्मारको सैनिक गतिविधि जातीय सफायमै केन्द्रित भएको आरोप लगाइआएका छन् । म्यान्मारले ठूलो संख्यामा रोहिग्या समुदायलाई स्वीकार्ने सम्भावना पनि न्यून रहेको बताइन्छ ।
रोहिग्या बिद्रोहीले प्रहरी पोष्टमा आक्रमण गरेपछि उनीहरु विरुद्धको कारबाही गत वर्ष अगष्ट २५ मा शुरु भएको थियो । रोहिग्या बिरुद्धको सैनिक कारबाहीलाई नियन्त्रणमा राख्न चौतर्फी आग्रह गरिए पनि हजारौं रोहिग्या मारिएको आशंका गरिएको छ ।
प्रकाशित समय : २३:२६ बजे


















