गृहपृष्ठ निर्मला हत्याको अनुसन्धान : एसपी विष्ट मुख्य दोषी !
निर्मला हत्याको अनुसन्धान : एसपी विष्ट मुख्य दोषी !
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई मुख्य दोषी करार गरिएको छ । घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार तथा स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएको निष्कर्ष निकाल्दै एसपी बिष्ट नै मुख्य दोषी भएको उल्लेख छ ।
छानबिन प्रतिवेदनमा एसपी विष्टको लापरबाहीका कारण नै सिंगो प्रहरी संगठन बदनाम हुन पुगेको उल्लेख छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको स्रोतको दाबी छ ।
एसपी विष्टले संयमता अपनाएको भए वा निष्पक्ष ढंगले छानबिन गरेको भए आन्दोलन नै नहुने पनि प्रतिवेदनमा उल्लेख छ । आन्दोलनको स्वरुप बढ्नु तथा पीडित परिवारले न्याय पाउन ढिलाइ हुनुको मुख्य कारण नै एसपी विष्ट रहेको प्रतिवेदनले औँल्याएको गृहका एक अधिकारीले बताए । प्रतिवेदनमा निर्मलाको शवसँगै भेटिएको सुरुवाल धुनु र र उनको शरीरका कपडा नष्ट गरिनु गलत भएको उल्लेख गरिएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले निर्मलाको ‘भेजिनल स्वाब’ घटनास्थलबाट जोगाएको र त्यसले डिएनए परीक्षणलगायतका अनुसन्धान गर्न सहयोग मिलेको प्रतिवेदनमा उल्लेख छ ।
साउन १० गते निर्मला पन्त सम्पर्कमा नआएरलगत्तै परिवारका सदस्यले प्रहरीलाई खबर गर्दा प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले स्थानीय प्रहरी चौकीका प्रहरी निरीक्षक जगदीश भट्टको कमजोरी प्रतिवेदनमा देखाइएको छ । समितिले अनसन्धानका क्रममा एक सयजनाभन्दा बढी स्थानीयसँग सोधपुछ गरेको छ ।
कहिले सार्वजनिक हुन्छ प्रतिवेदन ?
छानबिन समितिबाट प्रतिवेदन बुझेका गृहमन्त्री थापाले सुझावहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । यद्यपि, प्रतिवेदन तत्काल सार्वजनिक नहुने भएको छ । प्रहरी अनुसन्धान सकिएपछिमात्रै प्रतिवेदन सार्वजनिक गर्ने गृहको तयारी छ । ‘प्रतिवेदनमा उल्लेखित कतिपय विषय प्रमाणका आधारमा छन्,’ गृहका एक अधिकारीले भने, ‘अहिले नै प्रतिवेदन सार्वजनिक गरियो भने प्रहरी अनुसन्धानमा त्यसले असर पुर्याउने भएकाले तत्काल सार्वजनिक गरिने छैन ।’
प्रकाशित समय : १६:५५ बजे



















