बन्धनमा बामदेव, आफ्नैले रुचाएनन्
वि.सं.२०७५ असोज ११ बिहीवार १८:२९
shares

उपनिर्वाचन गरी संसदमा पुग्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता बामदेव गौतमको योजनामा आफ्नै पार्टीका नेता–कार्यकर्ता तगारो बनेका छन् । मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि पनि संसदमा पुग्न अनेक तानाबाना बुनिरहेका गौतमले पार्टीभित्रैबाट धक्का खाएका हुन् ।
निर्वाचनमा पराजय भोगेयता गौतमले पुनः सांसद बन्नका लागि १०–१२ जना सांसदसँग राजीनामा दिन आग्रह गरिसकेका छन् । दुई वर्षपछि राष्ट्रिय सभामार्फत सांसद बनाएर मन्त्रीसम्म बनाइदिने आश्वासन देखाउँदै गौतमले संसदबाट राजीनामा दिएर उपनिर्वाचनको बाटो खोलिदिन सांसदहरुसँग सर्त राखेका हुन् ।
नेता गौतमको सर्तमा केही सांसदहरु सहमतिनजिक देखिए पनि स्थानीय नेता कार्यकर्ताले ठाडै अस्वीकार गरिदिएका छन् । मतदाताले निर्वाचनमार्फत पाँच वर्षका लागि अयोग्य ठहर गरिसकेपछि पनि सांसद बन्न गरिरहेको प्रयासलाई जिल्ला तहका नेता–कार्यकर्ताले अस्वाभाविक मानेका छन् । चुनावबाट अस्वीकृत भएपछि पनि गौतमले लोभमोह लिएर अनैतिक र अराजनीतिक चरित्र देखाएको उनीहरुको बुझाइ छ । उपनिर्वाचन भएमा सहयोग नगर्ने चेतावनी जिल्ला तहका नेता–कार्यकर्ताले दिएका छन् ।
गौतमले बर्दिया, दैलेख, पूर्वी रुकुम, नवलपरासी पूर्व, डोल्पा, प्युठान, ललितपुरलगायत दर्जन जिल्लाका निर्वाचन क्षेत्रमा प्रयास गरेका छन् ।
कुन–कुन क्षेत्रमा पुगे बामदेव
एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक रहेका गौतमले सुरुमा बर्दिया २ का माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराउन प्रयास गरेका थिए । नेकपा अध्यक्ष दाहालले नै राजीनामा गर्न आग्रह गरेपछि थारु राजीनामा दिने मुडमा पुगेका थिए तर नेता–कार्यकर्ताले उपनिर्वाचन गराए सहयोग नगर्ने चेतावनी दिएपछि गौतम हच्किए ।
त्यसपछि पूर्वी रुकुममा माओबादी केन्द्रको तर्फबाट निक्कै ठूलो मतअन्तरले विजयी कमला रोकालाई राजीनामा गराउने प्रयास भयो । प्रचण्ड र गौतमले दुई वर्षपछि राष्ट्रिय सभा सदस्य र मन्त्री बनाउने आश्वासनसमेत दिएपछि रोका राजीनामा दिन तयार देखिइन् । तर, जिल्लाका सबै नेता–कार्यकर्ता सांसद रोकालाई कुनै हालतमा राजीनामा गर्न नदिने पक्षमा देखिएपछि गौतम अर्कोपटक ‘ब्याक’ सर्न बाध्य भए ।
गौतम थाकेनन् । उनले दैलेखका सांसद रवीन्द्रराज शर्मासँग राजीनामाका लागि आग्रह गरे । शर्माले पनि नमानेपछि डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बुढालाई राजीनामा गराउन गौतमले दबाब दिए ।
बुढा सांसद पद छाड्न तयार देखिए पनि जिल्लाका नेता–कार्यकर्ता उपनिर्वाचनका लागि तयार नदेखिएपछि गौतम नवलपरासी पूर्वतर्फ लागे । नवलपरासी पूर्व २ का सांसद तिलक महतलाई प्रस्ताव राखे ।
महतले जिल्ला कमिटीमा छलफल गर्ने बताएपछि गौतमले त्यहाँ पनि आफ्नो योजना असफल हुने अनुमान गरे । यसबीचमा गौतमले ललितपुर १ का सांसद नवराज सिलवाल र बाँके ३ का सांसद नन्दलाल रोकायलाई पनि राजीनामा दिन दबाब दिएका थिए । तर, दुवै जनाले उनको प्रस्ताव स्विकारेनन् ।
सांसद बन्न अनेक प्रपञ्च गरिरहेका गौतम आफ्नै जन्मथलो प्युठान गए । बाम गठबन्धनबाट उम्मेदवार बनेर चुनाव जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा गराउन अनेक आश्वासन दिए ।
गौतमको प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदिएपछि उनी निराश छन् । ‘सांसद छाड्न प्रस्ताव आएको थियो तर जनताले मलाई पाँच वर्षका लागि म्यान्डेट दिएकाले मैले जनतालाई धोका दिन मिल्दैन, त्यसैले मैले राजीनामा दिइन,’ जनमोर्चाकी सांसद पौडेलले भनिन् ।
अराजनीतिक र अनैतिक चरित्र देखाएको आरोप
०७० सालको निर्वाचनमा जन्मथलो प्युठानबाट विजयी भएका गौतम गत मंसिरमा भएको निर्वाचनमा बर्दियाबाट चुनाव लडेका थिए । तर, तत्कालीन माओवादी र एमालेको संयुक्त उम्मेदवार हुँदासमेत गौतमले चुनाव जित्न सकेनन् ।
यसअघि उनी ०५६ र ०६४ को पनि निर्वाचनमा पनि भारी मतअन्तरले पराजित भएका थिए । नेता गौतम सत्ता र शक्तिभन्दा बाहिर बस्नै नसक्ने स्वाभावका भएकाले अनेक प्रयास गरिरहेको नेकपाकै नेता बताउँछन् ।
अवसरवादी चरित्र
नेता गौतमले उपमहासचिव पद नपाएकै कारण महाकाली सन्धीपछि पार्टी फुटाएका थिए । तत्कालीन एमालेका नेता माधव नेपाल, केपी शर्मा ओलीलगायतका नेतालाई राष्ट्रघाती भन्दै सार्वजनिक रूपमै गालीगलौजमा उत्रिएका उनले नेताहरुविरुद्ध पर्चासमेत बाँडेका थिए । तर, ०५६ को आमनिर्वाचनमा गौतमले खोलेको पार्टीको शून्य सिट आयो ।
गौतम पार्टी विभाजनका सहयात्री सीपी मैनालीलाई धोका दिएर २०५८ सालमा पुनः एमालेमा फर्किए । निर्वाचनमार्फत शक्तिहीन भएपछि शक्ति र सत्ता प्राप्तिका लागि नैतिकता बन्धनमा राख्दै गौतमले अवसरवादी चरित्र देखाएको आरोप पार्टीभित्र र बाहिर पनि लागिरहेको छ ।
वामदेवको उद्देश्य गलत छ : विश्लेषक
व्यक्तिगत महत्वकांक्षा पूरा गर्नका लागि पार्टी नै विभाजन गर्न पछि नपरेको दर्दनाक इतिहास बोकेका नेकपा गौतम गलत आशयका साथ सांसद बन्ने प्रयत्नमा लागेको विश्लेषकहरुको आरोप छ । राजनीतिमा ‘पावर र पैसा’ राम्ररी बुझेका उनले त्यो हत्याउने मार्ग उपनिर्वाचनलाई रोजेको राजनीतिक विश्लेषक सुरेन्द्र केसी बताउँछन् ।
‘धेरैलाई लागेको थियो, निर्वाचनमा हार व्यहोरेपछि उनी संगठन निर्माणमा लागेर जनतामाझ राम्रो सन्देश दिन थाल्नेछन्,’ उनले भने, ‘तर त्यसविपरीत वामदेव जसरी पनि संघीय संसदमा छिर्ने योजनामा छन् । र मन्त्री बन्दै सत्ता र शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने दाउमा छन् ।’
उपनिर्वाचन भए पनि वामदेवले चुनाव नजित्ने तर्क केसीको छ । ‘अहिलेको माहौल नेकपाको पक्षमा छैन्, देशका जुनसुकै क्षेत्रमा उनी उम्मेदवार बनेपछि हार्ने निश्चित छ,’ उनले ठोकुवा गरे ।
चुनाव भए जित्लान् !
विगतदेखि विकास निर्माणका कामभन्दा सत्ता र शक्ति सञ्चय गर्ने स्वभावका कारण वामदेव नेतादेखि कार्यकर्तासम्म अलोकप्रिय बनेको धेरैको टिप्पणी छ । विकासका काममा ध्यान नदिने, कार्यकर्तासँग घुलमिल नगर्ने, आमनागरिकको पहुँचबाट टाढा रहने बानीका कारण उनको जनाधार कमजोर छ । केही टाठाबाठा कार्यकर्ता र व्यापारीसँग मात्र राम्रो सम्बन्ध बनाउने तथा सान र विलासी जीवनप्रतिको मोहका कारण गौतमलाई मतदाताले नरुचाउने उनकै पार्टीका नेताको बुझाइ छ ।
नेकपा बर्दियाका एक जिल्ला नेताले भने, ‘वामदेवले चुनाव जित्ने भए जिल्लाका नेता–कार्यकर्ता सबैले सांसदको राजीनामा स्वीकार्थे तर उनको विगत राम्रो नभएकै कारण राजीनामा गराएर उनलाई उम्मेदवार बनाउन मानेका छैनन् ।’

























