कांग्रेसमा विधान मस्यौदा विवाद बल्झियो, अनुशासन समितिमा पनि लफडा
वि.सं.२०७५ भदौ ९ शनिवार १५:५१
shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झगडै झगडाले प्रभावित भएको छ । गत बैशाखमा भदौभित्र महासमिति बैठक गर्ने निर्णय गरे पनि आ–आफ्नो गुटको सहजतामा सभापतिदेखि नेताहरु लाग्दा अहिलेसम्म मितिसमेत तय हुन सकेको छैन । महासमितिको टुंगो लगाउन शुक्रबार बस्न लागेको केन्द्रीय समिति बैठक पनि नेताहरुकै झगडाका कारण स्थगित भयो । शनिबार पनि शुक्रबारकै समय विहान ११ बजे बैठक डाकिएको छ । तर, सहमतिको आधार भने बनिसकेको छैन ।
गत बैशाख १६ को केन्द्रीय समितिले सभापतिले बनाएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति अवैधानिक भएको भन्दै विघटन गरेको थियो । तर, अहिलेसम्म ती समिति गठन नै गरिएका छैनन् । बरु महासमितिबारे निर्णय गर्नका लागि डाकिएको केन्द्रीय समिति बैठकअघि फेरि त्यही विषय बल्झिएको छ । सभापति देउवाले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समिति गठन गर्न पौडेलसँग नाम मागेपछि पुनः विवाद सतहमा आएको हो । विगतमा आफू पक्षका १४ सदस्य रहे पनि कार्यसम्पादन समितिका लागि नौ सदस्यको मात्रै नाम सभापतिले मागेपछि पौडेल जंगिएका थिए । देउवाले केन्द्रीय अनुशासन समितिमा पनि संयोजक भिष्मराज आङदम्बेलाई राख्न लागेपछि पौडेलले गम्भीर असहमति राखेको स्रोतको दाबी छ ।
‘सभापतिजीले भिष्मराज आङदम्बेलाई अनुशासन समितिको संयोजक बनाउन प्रस्ताव गर्नुभएको थियो,’ एक केन्द्रीय सदस्यले भने, ‘ब्यालेन्स भएर बोल्नसमेत नजान्ने व्यक्तिलाई न्याय गर्ने समितिको संयोजक बनाउने कुरा स्वीकार गर्न सकिँदैन भनेर उहाँले विमति राख्नुभयो ।’ देउवा पक्षका ती केन्द्रीय सदस्यले पनि भिष्मराज आङदम्वेको स्वभावका कारण उनलाई अनुशासन समिति स्वाभाविक नहुने बताए । ‘उहाँ आफूनिकटका व्यक्तिहरुसँग त स्वभाविका व्यवहार गर्न सक्नु हुन्न, सबै पक्षका विषयमा निष्पक्ष भएर निर्णय गर्नुपर्ने अनुशासन समितिमा त उहाँले कस्तो भूमिका निर्वाह गर्नुहोला र ?’ ती केन्द्रीय सदस्यले प्रश्न गरे ।
स्थानीय निर्वाचनपछि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरिए पनि देउवाकै पर्याप्त सहयोग नहुने देखेपछि उनले पदबाट राजिनामा दिएका थिए । त्यसयता खाली रहेको केन्द्रीय अनुशासन समितिका कारण कांग्रेसमा निर्वाचनमा अन्तर्घात गर्नेदेखि कार्यकर्तालाई घात गर्नेसम्मले छाती फुलाएर हिँडिरहेको भन्दै अलोचना भइरहेको छ । तर, दुई नेताको विवादका कारण अनुशासन समितिमासमेत विवाद भइरहेको छ ।
यस्तै पदाधिकारीबाहेक २२ केन्द्रीय सदस्य रहने केन्द्रीय कार्यसम्पादन समितिका विषयमा समेत विवाद छ । कार्यसम्पादनमा रहने सदस्यबारे भागबन्डा नमिल्दा विवाद भएको हो । विगतमा २९ मध्ये १४ सदस्य पौडेल पक्षका थिए । पदाधिकारी चयन नै नगरी देउवाले २९ सदस्य कार्यसम्पादन समिति गठन गरेका कारण अवैधानिक भन्दै विघटन गरिएको थियो । अहिले देउवाले नौ जना मात्र राख्न सक्ने भन्दै पौडेलसँग सदस्यको नाम मागेपछि पुनः विवाद चुलिएको हो ।
पदाधिकारी र प्रवक्तासमेत सदस्य रहने कार्यसम्पादन समितिमा २२ केन्द्रीय सदस्य थप्नुपर्ने हुन्छ । निर्वाचनबाट देउवा आफ्नो पक्षबाट आफूमात्र निर्वाचित भएका थिए । अहिले उपसभापति, सह–महामन्त्री र प्रवक्ता गरी तीन पदाधिकारी नियुक्त गरेपछि देउवा पक्षको बहुमत भएको छ । २२ मध्ये नौमात्र केन्द्रीय सदस्य दिएपछि जुनसुकै निर्णय आफ्नो पक्षमा गराउने रणनीति देउवाको भएको भन्दै पौडेलले विगतको संख्या घटाउने कुरा आफूलाई मान्य नहुने बताएका छन् ।
कांग्रेसमा गठन भइसकेको विधान मस्यौदा समितिसमेत विवादरहित छैन । गत असार पाँचदेखि सात गतेसम्म मकवानपुरको हेटौंमा भएको जिल्ला सभापतिहरुको भेलामा नै सभापति देउवा र पौडेलबीच विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुका तर्फबाट एकजना सभापतिलाई प्रतिनिधित्व गराउने सहमति भएको थियो । हेटौंडा घोषणा तयार गर्ने समितिमा पौडेल पक्षका मधु आचार्य (काभ्रे सभापति) संयोजक बसेका थिए । हेटौंडा घोषणपत्रमै जिल्ला सभापतिका तर्फबाट विधान मस्यौदा समितिमा समेत सहभागि रहने कुरा स्वीकार गरिएको थियो । उनै आचार्यलाई विधान मस्यौदा समितिमा राख्ने भनिएको थियो । तर, देउवाले विधान मस्यौदा समितिमा महामन्त्रीको नेतृत्वमा केन्द्रीय सदस्य मात्र राखिदिए ।
‘हिजो सभापतिजी र वरिष्ठ नेताबीच मधु आचार्यलाई विधान मस्यौदा समितिमा राख्ने सझदारी भएछ, तर पछि उपसभापति विमलेन्द्र निधिसहितका केही नेताले विधानमा त्यस्तो व्यवस्था नरहेको भन्दै राख्न नमिल्ने बताउनुभयो र फेरि रोकिदिनुभयो,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने । महासमिति बैठकमा पुग्न विधान संशोधन गर्ने र पार्टीलाई सशक्त बनाउने तयारीमा रहेको कांग्रेस अहिलेसम्म घरझगडाबाट बाहिर निस्कन नसक्दा उसको विपक्षी भूमिकासमेत प्रभावकारी हुन सकेको छैन ।
























