गृहपृष्ठ शैक्षिक प्रमाणपत्र धितोमा राखेर बैंकबाट कसरी लिने कर्जा ? (प्रक्रियासहित)
शैक्षिक प्रमाणपत्र धितोमा राखेर बैंकबाट कसरी लिने कर्जा ? (प्रक्रियासहित)
शुक्रबारदेखि शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिन थालिएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको छ । गत सातामात्र अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएको थियो । त्यलगत्तै कतिपयले आवेदन पनि दिइसकेका छन् । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाखको र उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुने बताइएको छ ।
कसरी लिने कर्जा ?
केन्द्रीय बैंकका अनुसार ऋणका लागि बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने छ । त्यसका लािग शैक्षिक प्रमाणपत्र धितोका रुपमा राख्नुपर्ने हुन्छ । त्यसमा पनि दुई खालका कर्जा पाइन्छ ।
एउटा, शिक्षित युवा स्वरोजगार कर्जा र अर्को उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि कर्जा ।
शिक्षित युवा स्वरोजगार कर्जा लिन शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिन सक्ने छन् । ४० वर्षभन्दा कम उमेर भएको र कम्तीमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन योग्य मानिने छन् । कर्जा लिनेले घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तीमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि कर्जा लिन माध्यामिक वा त्यस सरह उत्तीर्ण भएका र २५ वर्षभन्दा बढी उमेर नभएको यूवा हुनुपर्ने छ । विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले यस्तो कर्जा पाउनेछन् । प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ ।
यी सबै प्रमाण र योग्यता भएकाहरुले बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सक्ने अर्थ मन्त्रालयले जनाएको छ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र पनि समावेश गर्नुपर्छ । यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाबाट २१ दिनभित्र कर्जा पाइनेछ । बैंक तथा वित्तीय संस्थाले तोकेको कर्जाको ब्याजमध्ये पाँच प्रतिशत ब्याज सरकारले तिरिदिने छ ।
प्रकाशित समय : २०:०४ बजे


















