गृहपृष्ठ लाइफ ज्याकेटबिना डुंगा सयर गर्दा बेगनास तालमा दुर्घटना
लाइफ ज्याकेटबिना डुंगा सयर गर्दा बेगनास तालमा दुर्घटना
पोखराको बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा दुईजनाको मुत्यु भएको छ । दुर्घटनामा एकै परिवारका तीनसहित ६ जना बेपत्ता भएका छन् । दुर्घटनामा परेका तीन जनाको भने सकुसल उद्धार गरिएको छ ।
शनिबार दिउँसो आफन्तकहाँ दर खान निस्केका ११ जनाको एक समूह बेगनास तालको लिब्दी भन्ने ठाउँमा डुंगा डुब्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी महानगरपालिका–२८ कालिका घर भएकी ५१ वर्षीया कृष्णकुमारी बजगाई र पोखरा–३१, बेगनास घर भएकी वर्ष ३२ की जमुना कडेल गैरेको मुत्यु भएको प्रहरीले जनाएको छ । बेगनासतालबाट उद्धारपछि उपचारको क्रममा बजगाईको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
वेपत्ता हुनेमा गैंडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनका छोराहरु ८ वर्षीय श्ांकर खनाल र ६ वर्षीय शिव खनाल छन् । त्यसैगरी, बेपत्ता हुनेमा २८ वर्षीया निशा पौडेलका ५ वर्षीय छोरा प्राचीन पौडेल, तनहँुको भिमाद नगरपालिकाका ४ वर्षीय रञ्जित गैरे रहेको प्रहरीले जनाएको छ ।
डुंगा चलाउने रवि खनाल नेपाली सेनामा कार्यरत छन् । रविकी श्रीमती सपना खनालको सकुसल उद्धार गरिएको छ । प्राचीनकी आमा निशाको पनि उद्धार गरिएको छ । हाल उनीहरुको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ । डुंगामा एक्लै गएका कमल कँडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि टोलीले उद्धार गरेको थियो । उनको अवस्था सामान्य छ ।
डुंगा गन्तव्यमा पुग्नुभन्दा करिब डेढ सय मिटरवर दुर्घटना भएको हो । दुर्घटनास्थल बेगनास डुंगाघाँटदेखि करिब २ किलोमिटर टाढा पर्छ । तीज पर्व मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ ।
डुंगामा सवार प्राचीन एक्कासि तालमा खसेपछि आमा निशा उद्धारका लागि तालमा हाम फालेसँगै डुंगा अनियन्त्रित हुँदा पानी पसेर डुब्न पुगेको स्थानीयले बताएका छन् । लाइफ ज्याकेटबिना एकै डुंगामा १० जना सवार भई डुंगाबाट दुई जना खस्न पुगेसँगै अन्य डुंगामा सवार तालमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डुंगा डुवे लगत्तै स्थानीयबासी उद्धारमा जुटेकाले केहीलाई बचाउन सकिएको बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाटले बताए ।
घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयसँगै गोताखोरसहितको रेस्क्यु टिम परिचालन गर्दा शनिबार बेलुकासम्म बेपत्ताबारे कुनै जानकारी प्राप्त नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । आइतबार गोताखोरको विशेष टोलीबाट बेपत्ताको खोजी गरिने उनले बताए ।
बेगनास ताल डुंगा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले बेगनास तालमा अनिवार्य लाइफ ज्याकेट गरिए पनि स्थानीयलाई लागू गर्न कठिन भएको बताए । पोखराको बेगनास तालमा असावधानीका कारण लाइफ ज्याकेटबिना डुंगा सयर गर्दा ठूला दुर्घटना हुने गरेका छन् । बेगनास र फेवातालमा डुंगा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुन सकेको छैन ।
प्रकाशित समय : ०२:५६ बजे



















