गृहपृष्ठ मुख्यमन्त्री गुरुङले भने– रेलको रफ्तारमा गण्डकीको विकास
मुख्यमन्त्री गुरुङले भने– रेलको रफ्तारमा गण्डकीको विकास
पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर तीज महोत्सव २०७५ सुरु भएको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने महोत्सवको एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गरे ।
मेला उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले मेला र महोत्सवलाई आर्थिक विकास र समृद्धिका लागि पर्यटनसँगै जोडेर मनाउन सुझाव दिए । गण्डकी प्रदेश लोक साहित्यको क्षेत्रमा धनी प्रदेश भएको उनको भनाइ छ ।
प्रदेश सरकारसमक्ष जनताले अपेक्षा गर्नु स्वाभाविक भएको मुख्यमन्त्री गुरुङले बताए । ‘तर प्रदेश सरकार ६ महिनाको वालक जस्तो अवस्थामा हाल रहेकाले गर्ने समय आउँदै छ,’ उनले भने ।
सडक महोत्सव, प्याराग्लाइडिङ पोखराका पहिचान गर्ने ब्रान्ड नै भएकाले यस्ता ब्रान्डको पहिचान गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ । संघिय सरकारले अझै प्रदेशमा आवश्यक कर्मचारी नपठाएकोमा उनले असन्तुष्टि जनाए । मुख्य मन्त्री गुरुङले केही महिनापछि रेलको रफ्तारमा गण्डकी प्रदेशको विकास गर्ने लक्ष्य रहेको सुनाए ।
गण्डकी प्रदेशका सांसद कृष्ण थापाले लामाचौर महोत्सवले कला र संस्कृतिको साथमा विभिन्न खेलकुदको समेत विकासमा सहयोग पु¥याएको बताए । कार्यक्रममा इन्द्रराज्य लक्ष्मी माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने सृष्टि लामिछाने र संघर्ष लामिछानेलाई सम्मान गरिएको छ ।
लामाचौर तीज महोत्सवको अवसरमा शनिबारदेखि अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितोरियो कराँते प्रतियोगिता र अन्तर समूह तीज गीत प्रतियोगिता सुरु भएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ महोत्सव आयोजना गरिएको हो ।
प्रकाशित समय : ०२:३७ बजे



















