जोशीलाई महाअभियोग लगाउने नेकपाको तयारी
वि.सं.२०७५ असोज ४ बिहीवार २१:३५
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्वाेच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी गरेको छ । संवैधानिक परिषदले सर्वाेच्च अदालतको प्रधान्यायाधीशमा सिफारिस गरेका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।
त्यसपछि पुनः अर्काे प्रकृया सुरु भई संवैधानिक परिषदले ओमप्रकाश मिश्रलाई सर्वाेच्चको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाई समितिले स्वीकृत गरेपछि मिश्र सर्वाेच्चको प्रधानन्यायाधीशमा नियुक्त भइसकेका छन् ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेकामा र संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि उनलाई नेकपाले राजीनामा दिने विकल्प सुझाएको थियो । तर, जोशीले राजीनामा नदिने र सर्वाेच्चको न्यायाधीशका रुपमा काममा फर्किने अडान लिँदै आएका थिए ।
जोशीले आफू अस्वीकृत भए पनि सर्वाेच्चको प्रधान्यायाधीश नियुक्त भई आएका मिश्रलाई जोशी आँफैले सर्वाेच्चमा स्वागत गरेका थिए ।
नेकपाका एक शीर्ष नेताले अनौपचारिक रुपमा जोशीलाई महाअभियोग लगाउने तयारी भएको पुष्टि गरे । ‘महाअभियोगबारे निर्णय भइसकेको छैन तर, हस्ताक्षर संकलन सुरु गरिसकेका छौं । आज भोलि नै संसदमा दर्ता हुन्छ,’ ति नेताले भने । त्यसको नेतृत्व संसदीय दलका उपनेता सुवास नेम्बाङले गरेको बताइएको छ ।
नेकपाले हस्ताक्षर संकलनका लागि उपत्यकाबाहिर रहेका सबै सांसदलाई तत्काल काठमाडौं बोलाएको छ ।
























