मुलुकी संहिताको विरोधमा सार्वजनिक यातायातमा हड्ताल, यात्रुको बिचल्ली
वि.सं.२०७५ असोज ४ बिहीवार २१:५६
shares

नयाँ मुलुकी संहिताको विरोधमा सार्वजनिक यातायातका सवारी चालकहरुले तीन दिनदेखि सवारी चलाएका छैनन् । सात नम्वर प्रदेशका जिल्लामा कुनै पनि सवारिका साधन चलेका छैनन् ।
नयाँ मुलुकी संहितामा चालकको लापरबाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको विरोधमा यातायात मजदुरहरू हडतालमा उत्रिएका हुन् ।
उनीहरूले असोज १ गतेदेखि सवारी चलाएका छैनन् । तीनदिनदेखि लगातार सवारी साधन नचलाएपछि बिहीबार बिहान सुदूर पश्चिम यातायात व्यवसायी संघ धनगढीले समस्या समाधानका लागि पहल गरेको थियो ।
उक्त छलफलमा चालकसँगै यातायात समिति, संघसंगठनका प्रतिनिधि सहभागी थिए । छलफलमा यातायात समिति र संघसंगठनका प्रतिनिधिले समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरेका थिए ।
तर, छलफलमा आन्दोलनको जिम्मेवारी कसैले पनि लिएनन् । आन्दोलनकारीको तर्फबाट पनि कोही बोलेनन् । छलफलबाट कुनै निष्कर्ष निस्किएन । तीन दिनदेखिको चालकको आन्दोलनका कारण यात्रुहरूको बिचल्ली भएको छ ।
उनीहरू धनगढीका होटलहरुमा बस्न बाध्य छन् । भारतबाट आएर गाडी नचल्दा धनगढीको होटेलमा बसिरहेका बाजुराका कर्ण जेठाराले समस्या भोग्नुपरेको गुनासो गरेका छन । यात्रुहरुले भने समस्याको समाधान वार्ता मार्फत गर्दै यात्रुहरूलाई समस्यामा नपार्न आग्रह गरेका छन ।

























