कसले बन्द गरेको थाहा छैन : हल्लै हल्लामा बन्द
वि.सं.२०७५ असोज ५ शुक्रवार ०२:२०
shares

नेपालभर सवारी चालकहरुले तीन दिनदेखि यातायात ठप्प पारेका छन् । नयाँ मुलुकी संहितामा चालकको लापर्बाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको विरोधमा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
यस्तै कर्णाली प्रदेशमा पनि यातायातहरु केहि छिटफुट रुपमा सञ्चालनमा आए पनी पूर्णरुपमा सञ्चालनमा आएका छ्रैनन् । यसले यात्रुहरु मर्कामा परेका छन् ।
आन्दोलनको नेतृत्व कसले गरेको छ र किन आन्दोलन गरिएको छ भन्ने कुराको जानकारी भने नत यात्रुलाई थाहा छ नत व्यवासायी र चालकलाई नै । नेपाल यातायात मजदुर संघका राष्ट्रिय उपमहासचिव ध्रुव थापालाई पनी यसको जानकारी छैन ।
उनी भन्छन्, ‘हल्लैहल्लामा बन्द भएको छ । बन्द कसले र किन गरेको भन्ने कुरा पनी थाहाछैन । नयाँ मुलुकी संहिताभित्र पनि सवारी ऐन छ त्यसले चालकहरुलाई संरक्षण गर्दछ । तर यो कुरा मजदुरहरुले नबुझेर यात्रुहरुलाई मर्का परेको छ । कुनै डर र त्रास बिना काममा र्फकन आग्रह गर्न चाहान्छु ।’
उनले थपे, ‘अखिल नेपाल मजदूर संघ र नेपाल यातायात मजदूर संघको संयुक्त भिजनमा वार्ता टोली गठन भएको छ । जसले मजदूरहरुका कानुनी प्रावधानका विषयमा काम गर्नेछ । तर यो आन्दोलनमा हाम्रो कुनै संलग्नता छैन ।’
केन्द्रबाट सम्पुर्ण चालकहरुलाई कसैको बहकाउमा नलागी काममा फर्कन जानकारी गराउने निर्दशन आएको थापाले बताए ।
उता सवारी चालक मानबहादुर रावललाई पनि आन्दोलनको बारेमा केही थाहा छैन । दैलेख सुर्खेत कियां गाडी चलाउंदै आएका रावलले दुई दिनदेखि गाडी चलाएका थिएनन् । तर बिहीबार सबैले चलाएको देखेर आफूले पनि गाडी चलाएको उनले बताए ।
उनले भने, ‘हिजो अस्ती मैले पनि गाडि चलाइन । कसले र किन बन्द गरेको मलाई पनि थाहा छैन । सबैले नचलाउने भनेपछि मैले दुई दिन बन्द गरे र आज चलाएको हुँ ।’
उता यात्रु भने सवारी साधन नचल्दा अलपत्र परेका छन् । यात्रु हेमन्त भट्टराई कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट नेपालजञ्ज जान गाडी कुरेको र नपाएको गुनासो गर्छन् । आन्दोलन किन र कसको नेतृत्वमा भएको छ हेमन्तलाई थाह छैन ।

























