एचआइभी संक्रमित औषधि खानै मान्दैनन्
वि.सं.२०७५ मंसिर २० बिहीवार १६:२६
shares

डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी संक्रमितले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन गर्न छाडेकी छन् ।
आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने उनको जिद्दी छ । एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको संक्रमण हुन थालेको छ । धनसराजस्तै अन्य संक्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन् । ‘स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्’ संक्रमित कमला मल्ल भन्छिन् । ‘एक महिलाले २४ महीनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।’ औषधि सेवन नगरे अधिकांशको छोटो समयमै मृत्यु हुने गरेको छ ।
विसं २०६२ मा पहिलो पटक आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेकी कमला भन्छिन्, ‘कयौँ संक्रमितकोे औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।’
पछिल्लो समयमा यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डाक्टर गिरीस अवस्थी बताउछन् । उनका अनुसार लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको देखिन्छ । लगातार औषधिको सेवन गर्न झण्झट मान्ने कारणले समेत समस्या निम्तिएको सोही अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डाक्टर भुषण मिश्रको भनाइ छ ।
जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कबिहीन रहेका छन् । उनिहरुले औषधी सेवन गरे–नगरेको जिल्ला अस्पताललाई जानकारी नै छैन । जिल्लामा एआरटी सेवन गरिरहेका कुल ७६४ संक्रमितमध्ये१५१ को मृत्यु भइसकेको छ । ६० जनालाई जिल्ला बाहिर सिफारिश गरिएको छ ।(रासस)

























