काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुँजी बढाउन बिमा कम्पनीलाई थप ६ महिना !

13.8K
shares

बिमा समितिले पुँजी वृद्धिका लागि बिमा कम्पनीहरुलाई ६ महिनाको समय थपिदिने भएको छ । २१ वटा कम्पनीले बिमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएपछि समितिले असार मसान्तसम्म पुँजी बढाउन मिल्ने गरी समथ थप्न लागेको हो । ।

बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै बिमा समितिले आर्थिक वर्ष ०७४–७५ को अन्त्यसम्ममा चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । सो अवधिमा निर्जीवन बीमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने थियाे । तर, सो अवधिमा पनि बिमा कम्पनीले पुँजी बढाउन सकेनन् ।

निर्देशिकामा उक्त अवधिमा पुँजी बढाउन नसकेमा पहिलो पटकका लागि तीन महिना समय थप्न सकिने व्यवस्था छ । समितिले दुई पटकसम्म समय थप गर्न सक्छ । यसरी समितिले थप गरेको ६ महिनाको समय आगामी पुसमा सकिँदै छ । तर, अहिलेसम्म पाँच वटा कम्पनीले मात्रै समितिले तोकेको चुक्ता पुँजी पुर्याएका छन् भने २१ वटा कम्पनीले अझै तोकेको पुँजी कायम गर्न सकेका छैनन् । अधिकांश निर्जीवन बीमा कम्पनीहरु बोनस शेयरमार्फत पुँजी जुटाउने योजनामा छन् भने केही कम्पनीले पुँजी बढाउन अझै हकप्रद निष्काशन गर्नुपर्छ ।

पाँच कम्पनीले पुँजी बढाए 

नेपाल लाइफ, शिखर इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले समितिको निर्देशनअनुसार पुँजी बढाइसकेका छन् । नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १ अर्ब ५ करोड, हिमालयन जनरल इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । महालक्ष्मी जीवन बिमा कम्पनी सञ्चालनको तयारीमा छ । त्यसैगरी, २० वटा निर्जीवन बीमा कम्पनी छन् । तर, पुँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुने समितिले जनाएको छ ।

२१ कम्पनी पुँजी वृद्धिमा किन असफल भए ?

बिमा समितिले चालू आर्थिक वर्षदेखि नेपाल फाइनान्स रिपोर्टिङ स्याट्यान्डर्ड (एनएफआरएस) अनुसार कम्पनीहरूले प्रत्येक वर्ष सम्पति तथा दायित्वको मूल्यांकन गराउनुपर्ने व्यवस्था लागू गरेको छ । नेपालमा बिमांकी नभएकाले बिमा कम्पनीहरुको वित्तीय विवरण मूल्यांकन गर्न लामो समय लाग्छ । किनकि, यो प्रणालीअनुसार पाँच वर्षयता आर्थिक वर्षको वित्तीय विवरणलाई पनि केलाउनुपर्छ ।

यसले गर्दा बिमा कम्पनीहरुको साधारणसभा पछाडि धकेलिएको छ । जसले गर्दा कम्पनीहरुले वित्तीय विवरण पारित गर्न सकेका छैनन् । यही कारण पुँजी वृद्धिको योजना प्रभावित बनेको हो । बिमक संघले पनि समितिलाई समथ थप गरिदिन आग्रह गर्दै आएको थियो । बजारमा क्रेडिट क्रन्च हुँदा संस्थापकहरुले आवश्यक सेयर पुँजी जुटाउन नसकेको गुनासो गर्दै बीमक संघले समय थप गरिदिन समितिको ध्यानाकर्षण गराएको थियो ।

समितिले लागू गरेको नियम पूरा गर्ने क्रममै कम्पनीहरुको पुँजी वृद्धिमा केही ढिलाइ हुने देखिएकाले ६ महिनाको समय थप गर्ने तयरी गरिएको समितिले जनाएको छ । ‘गत आर्थिक वर्षको वित्तीय विवरण नै कम्पनीहले तयार पारेका छैनन्,’ बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, ‘त्यस कारण समितिले केही समय थप गर्ने तयरी गरेको छ ।’ एनएफआरएसको प्रक्रिया लामो हुने भएका कारणले नै पुँजी वृद्धिका लागि समय थप गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । आवश्यक छलफल गरी केही दिनमै समय थप गर्ने निर्णय गरिने उनले बताए ।