काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बस्तीमुनि बालुवा तस्कर, जोखिममा ३० घर

12.33K
shares

साढे तीन वर्षअगाडिको विनासकारी भूकम्पले क्षति पुर्याएका आवास निर्माण गर्न सर्वसाधारणले बालुवा, ढुंगालगायतका सामग्री झिक्न पाएका छैनन् । तर, पहुँचवालाहरुले भने कानुन हातमा लिँदै पहाड र जंगल मासेर धमाधम बालुवा झिकेर बेचिरहेका छन् ।

प्रहरी, जिल्ला समन्वय समिति र प्रशासनको मिलेमतोमा तस्करले प्राकृतिक स्रोतमा कब्जा जमाएका हुन् । र, स्थानीयबासीमाथि भएको यो ज्याजती कतै दूरदराजको नभई राजधानी काठमाडौंकै हो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ अन्तर्गत आफ्नो पहुँचभित्रको स्रोतमा स्थानीयको अग्राधिकार रहन्छ । तर, गोकर्णेश्वर नगरपालिका–३ स्थित सुन्ताखानमा भने स्थानीयबासी आफ्ना ठाउँका प्राकृतिक स्रोत साधनको प्रयोग गर्नबाट वञ्चित छन् । निर्माण सामग्री अभावमा सयौं भूकम्पपीडितले तीन हिउँद र वर्षा टहरामै बिताउनुपरेको छ । पहुँचवालाहरुले भने उनीहरुकै बस्तीमुनिबाट ट्रकका ट्रक बालुवा गिटी र ढुंगा उत्खनन गरेर निकासी गरिरहेका छन् ।

गोकर्णेश्वरको सुन्ताखानमा बस्तीबाट सय मिटरआसपास नै प्राकृतिक स्रोतको दोहन भइरहेको छ । जबकि, उद्योग सञ्चालनसम्बन्धी कार्यविधिमा बस्तीबाट ५ सय मिटर र वातावरण मूल्यांकन गराएरमात्र बालुवा खानी सञ्चालन गर्न पाइने उल्लेख छ ।

संरक्षित शिवपुरी राष्ट्रिय निकुञ्जको पहाड र पर्यटकीय क्षेत्र तारेभीरमुनिबाट अवैध रुपमा बालुवा उत्खनन भइरहे पनि त्यसलाई रोक्न कसैले चासो देखाएको छैन । स्थानीय तह र प्रशासनले अवैध उत्खनन र निकासी रोक्न कुनै प्रयास गरेका छैनन् । स्थानीयले भने जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा बालुवा तस्करी बढेको आरोप लगाएका छन् । समस्या समाधानमा कसैले साथ नदिएको भन्दै स्थानीयले बालुवा तस्करविरुद्ध लड्न भन्दै संघर्ष समिति नै बनाएका छन् ।

 

बस्ती भासिने खतरा

बालुवा उत्खननकै कारण खेतीयोग्य जमिन कटान हुनुका साथै तारेभीरमुनिको पहाड जोखिममा परेको छ । ३० भन्दा बढी घरघुरी रहेको बस्ती भासिने खतरा छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, मन्त्रिपरिषद् र सर्वोच्च अदालतले समेत नदी तथा संरक्षित क्षेत्रका पहाडमा स्क्याभेक्टर प्रयोग गर्न रोक लगाएको छ ।

मानवीय बस्ती तथा खेतीयोग्य भूमि नै संकटमा पर्ने गरी प्राकृतिक स्रोत दोहन भइरहँदा सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको दुखेसो छ । ‘हामीले मेयर, वडाध्यक्ष, प्रहरी र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी दिएका छौं,’ स्थानीय रमा न्यौपाने भन्छिन्, ‘हाम्रो बस्तीमुनिबाट जथाभावी बालुवा निकाल्दा पहाड भासिने खतरा छ, भोलि कुनै क्षति भएमा कसले जिम्मेवारी लिन्छ ?’

baluwa-main-photo-newskarobar

बालुवा धुन खानेपानी प्रयोग

गोकर्णेश्वर–३ वरपरका सबै सडक बिहानदेखि बेलुकासम्म धुलाम्मे हुन्छन् । दैनिक १२ वटा बालुवा बोक्ने ट्रिप्पर ओहारदोहोर गर्दा सर्वसाधारणलाई आवतआवतमा समेत खतरा छ । ट्रिप्परको तीव्र गतिले दुर्घटनाको जोखिम बढाएको स्थानीय गुनासो गर्छन् । सडक छेउछाउका घर धुलोले छोपिएका छन् । हरिया रुखमा माटोमा पुरिएका छन् । ट्रिप्परले भत्काएर सडक हिँडिनसक्नु छ ।

बस्तीको बीचमा बालुवा धुने ठाउँ बनाइएको छ । धुनका लागि बालुवा खन्याउँदा निस्केको धुलोले गाउँ नै कुइरीमण्डल हुन्छ । धुँवा, धुलोका कारण बेलाबेला त सास लिनसमेत समस्या हुने स्थानीयबासी बताउँछन् । स्थानीय ८५ वर्षीय नन्दराम गिरी भन्छन्, ‘कहिलेकाहीँ बालुवा धुने ठाउँबाट धुलो उडेर, आकाशमा कुइरीमण्डल हुन्छ, झ्याल–ढोका थुनेर घरभित्रै बस्नुपर्ने हुन्छ ।’ उनका अनुसार सिंगो बस्तीमा खानका लागि ल्याएको पानी बालुवा धुन प्रयोग भइरहेको छ । ‘खानेपानीले बालुवा धुने गरेकाले गाउँमा पानीको अभाव छ,’ गिरी भन्छन्, ‘बालुवा पखाल्न ट्युब वेलबाट ठूलो परिमाणमा पानी तान्दा इनारहरु सुक्दै गएका छन् ।’

 

मेयरले उल्टै हकारे : स्थानीय

पहाडको फेदबाट बालुवा उत्खनन गरी तारेभीर क्षेत्र संकटमा पर्दासमेत सम्बन्धित निकायले टुलुटुलु हेरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन् । बस्तीमुनिबाट बालुवा निकाल्दै प्लटिङ गर्ने क्रम सुरु भएदेखि नै स्थानीयले विरोध जनाएका थिए । उनीहरु वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्म पुगे । तर, सुनुवाइ कहीँबाट भएन ।

गाउँले सबै मिलेर नगर प्रमुख सन्तोष चालिसेसमक्ष पुग्दा पनि बेवास्ता गरेको स्थानीय बताउँछन् । प्रमुख चालिसेले उल्टै बालुवाखानी सञ्चालकसँग मिलेर आफूहरुलाई झपारेको स्थानीय पद्मकान्त विष्ट बताउँछन् । ‘मेयरज्यूसँग समेत गुनासो राख्न गयौं तर उल्टै यत्रो लगानी गरेर चलाएको उद्योगलाई सबैले सहयोग गर्नुपर्छ भन्दै हामीलाई हकारेर पठाउनुभयो,’ उनले भने ।

नगर प्रमुख चालिसे स्थानीयका कुरा सुन्न आउनुभन्दा पनि तिनै बालुवा खानी सञ्चालकको प्रलोभनमा परेको स्थानीय महिला समूहका सदस्यहरु बताउँछन् । उनीहरु भन्छन् ‘मेयरज्यू हामी जनताकहाँ आउनुहुन्न, यहाँ आए पनि बालुवा तस्करसँग बसेर रक्सी धोकेर फर्कनुहुन्छ, हाम्रो गुनासो सुन्ने समय छैन उहाँलाई ।’

निरीह वडाध्यक्ष

माथिल्ला निकायले नै मापदण्डविपरीत बालुवाखानी सञ्चालन अनुमति दिएपछि स्थानीय हैरान छन् । उद्योग सञ्चालनसम्बन्धी कार्यविधिमा बस्तीबाट ५ सय मिटरपर उद्योग हुनुपर्ने र स्थापनाअघि अनिवार्य वातावरण प्रभाव मूल्यांकन गराउनुपर्ने उल्लेख छ । तर, सुन्ताखानमा घरमुनिबाटै बालुवा झिकिन्छ र अलि पर लगेर पखालिन्छ ।

कानुनविपरीतका सबै गतिविधि नियन्त्रणमा आफ्नो सक्रियता रहने वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले बताए । प्राकृतिक सम्पदा दोहन तथा नदीजन्य वस्तुको तस्करी नियन्त्रणमा माथिल्ला निकायले आफूलाई साथ नदिए जनताको साथ लिएर अवैध खानी बन्द गर्ने उनले चेनावती दिए । ‘पहाडको फेदबाट स्क्याभेटरले बालुवा निकाल्दा, पहाड भासिने खतरा बढ्नुका साथै मानवीय बस्तीसमेत संकटमा परेको छ,’ वडाध्यक्ष भण्डारी भन्छन्, ‘मापदण्डविपरीत अवैध रुपमा चलाइएका यस्ता सबै बालुवाखानी बन्द गराउँछु ।’ आफू जनताका लागि जनताबाटै निर्वाचित भएर आएकाले उनीहरुकै चाहनाबमोजिम अघि बढ्ने उनले प्रस्ट पारे । स्थानीय बासिन्दा भने उनको भनाइमा खासै विश्वास गर्दैनन् । उनीहरु भन्छन्, ‘वडाध्यक्षले चाहेर पनि हुने देखिँदैन ।’

baluwa-main-photo-newskarobar

उजुरी दिए ज्यान मार्ने ‘धम्की’

प्रचलित कानुनको पालना गराउनुपर्ने प्रहरी, प्रशासन र जिविसको संरक्षणमा रहेका तस्करहरुले नदी उत्खनन गरी सार्वजनिक सम्पत्तिमा समेत क्षति पुर्याइरहेका छन् । बालुवा झिक्दा बस्ती जोखिममा परेको, बस्तीको बीचमा बालुवा धुने ठाउँ बनाएर धुलो उडाएको र पालुवा बोक्ने ट्रिप्परले दुर्घटना बढाएको जस्ता गुनासो स्थानीयले बालुवाखानी सञ्चालकसमक्ष नराखेका होइनन् । तर, उल्टै धम्की आएको स्थानीय आमा समूहका सदस्य बताउँछन् ।

समस्या समाधान गर्न आग्रह गर्दै गुनासो राख्दा उल्टै धम्की आएको आमा समूहकी सदस्य विष्णुमती चालिसेले बताइन् । ‘प्रहरी, प्रशासन, जिविस सबैतिर सेटिङ मिलाएका छौं, खेर जाने बालुवा झिकेका त हौं, उजुरबाजुर गर्यौ भने बालुवामै पुरिदिन्छौं, भन्दै सातो लिए,’ खानी सञ्चालनको भनाइ उद्धृत गर्दै उनले भनिन् ।

त्यसपछि कोही बोल्न नसकेको स्थानीयबासी बताउँछन् । सिंहदरबारको अधिकार स्थानीय तहमा आएकाले जनताको चाहनाअनुसार अवैध खानी बन्द गराउन जनप्रतिनिधिहरुले खुट्टा कमाउन नहुने स्थानीयबासीहरु बताउँछन् ।

 

नगर प्रमुख भन्छन्- दोधारमा परेँ

santosh chalishe-mayorनगर प्रमुख चालिसेले भने बस्ती जोखिममा परेको नपरेकोबारे जानकारी नभएझैं गरेका छन् । बालुवाखानीको असरबारे अध्यनन गरेर निर्णय लिने उनले बताए । स्थानीयबासीको समस्या आफूले सुनेको भन्दै उनले दुवै पक्षले आफूसँग गुनासो राखेको बताए । ‘स्थानीयबासीसँग कुरा गर्दा, जोखिमा पर्याे, टिप्परले घर थर्कायो, धुलो उडायो, बन्द गर्नुपर्यो भन्छन्,’ न्युज कारोबारसँग चालिसेले भने,  ‘बालुवा उद्योगी भने ठूलो लगानी गरेका छौं, बन्द गर्यो भने ऋणमा डुब्छौं, बन्द गर्नु हुँदैन भन्छन्, के गर्ने दोधारमा परेँ ।’

बस्तीमुनिबाट बालुवा उत्खनन गरिएको ठाउँमा दुई रोपनीभन्दा बढी जग्गा मिचिएको समेत गुनासो आएको उनले बताए । ‘बालुवा निकालिएको ठाउँमा तत्काल पर्खाल लगाउन आग्रह गर्छु,’ प्रमुख चालिसेले भने, ‘बालुवा उत्खनन् गरेको ठाउँमा भौगोलिक अध्ययन गरेर दीर्घकालीन असर गर्ने देखिए संरक्षणको उपाय अपनाउन आग्रह गर्छु र खानी बन्द गराउँछु ।’

 

सञ्चालक भन्छन्- बन्द गर्दैनौं

बालुवाखानी सञ्चालक भने आफूहरुले ठूलो लगानी गरिसकेकाले बन्द गर्न वा अन्त सार्न नसक्ने बताउँछन् । उद्योगबाट स्थानीयलाई असर परे पनि उनीहरुका लागि धेरै पूर्वाधार बनाइदिने आश्वासन सञ्चालक राजकुमार श्रेष्ठले दिए । ‘हाम्रै कारण विकास निर्माणले तीव्रता पाएको छ,’ श्रेष्ठले न्युज कारोबारसँग भने, ‘विकाससँगै भएका केही विनासलाई स्वीकार्नुपर्छ तर स्थानीयलाई दुःख दिने नियत छैन, धेरै समस्या भएजस्तो पनि लाग्दैन ।’

स्थानीयलाई खानेपानीको मुहान बनाइदिने भनेको, महिला समूहको भवन बनाइदिएको र सडकमा ग्राभेल गरिदिएको दाबी गर्दै उनले प्रश्न गरे, ‘यत्रो गरेका छौं किन हामीले उद्योग बन्द गर्नु ?’ बैंकबाट ऋण लिएर ठूलो लगानी गरेकाले स्थानीयलाई जति असर परे पनि उद्योग कुनै हालतमा बन्द नगर्ने उनले स्पष्ट पारे ।