केन्द्रीय समितिले टुंगाे लगाउन सकेन कांग्रेसकाे विधान विवाद
वि.सं.२०७५ मंसिर २७ बिहीवार २०:२२
shares

नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबारबाट सुरु हुँदैछ । केन्द्रीय समितिमा पेस गरिएका सबै प्रस्तावलाई सर्वसम्मतीले पारित गरी महासमितिमा एकताको सन्देश दिने बताएका नेताहरुले महत्वपूर्ण मानिएको विधान प्रस्तावमा सहमति कायम गर्न सकेका छैनन् । महासमितिको पूर्वसन्ध्यामा बस्ने केन्द्रीय समिति बैठकले विधान प्रस्ताव पारित गर्ने सम्भावना न्यून छ ।
अहिलेसम्म आर्थिक प्रस्तावबाहेक अन्य प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको छैन । तर, बिहीबार उपसभापति बिमलेन्द्र निधिको राजनीतिक प्रस्ताव र महामन्त्री शशांक कोइरालाको सांगठनिक प्रस्ताव पारित हुने नेताहरुले बताएका छन् । ‘प्रस्तावित विधानमा आजै सहमति हुने सम्भावना न्युन देखिएको छ,’ केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘नमिलेका विषयलाई पछि सहमति गर्ने गरी थाँती राख्ने तयारी छ ।’
महासमिति बैठकको तयारीका लागि विभिन्न समिति बनाइएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा सांठनिक प्रस्ताव समिति गठन गरिएको थियो ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो ।
विवाद
कांग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा नेताहरुबीच विवाद छ । मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथि सहमति जुटाउने नेताहरुको प्रयास जारी छ । कांग्रेसले पार्टीको विधानलाई संघीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ९ गतेको बैठकमा उक्त मस्यौदा पेश गरेका थिए ।
मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिएका थिए । बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको संख्या पनि बढाउनुपर्नेमा छलफल भइरहेको केन्द्रीय सदस्य यादवले बताए ।
संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिन्छ । संस्थापन ईतर पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको संख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने पक्षमा छ । प्रस्तावित विधानमस्यौदमा पदाधिकारी संख्या र निर्वाचन सम्बन्धी फरक मतलाई पनि उल्लेख गरी केन्द्रीय समितिमा पेश गरिएको छ ।
प्रस्तुत मस्यौदामा पदाधिकारीको संख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको छ । हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको कांग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

























