कश्मीरमा गाेली हानाहान, दुईजना मारिए
वि.सं.२०७५ मंसिर २७ बिहीवार २०:४६
shares

भारत प्रशासित कश्मीरको सोपोर जिल्लामा सुरक्षाकर्मीलाई दुईजना आतंककारीलाई गोली हानेर मारेका छन् । मारिएका ओविस बट्ट र ताहिर अहमद ‘लश्कर–ए–तैयबा’ नामको आतंवादी संगठनका सदस्य रहेको अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोपोरको ब्राथ कलन क्षेत्रमा उनीहरु लुकेर बसेको सूचना पाएपछि सुरक्षाकर्मीले खोजी सुरु गरेका थिए । बुधबार साँझ उक्त क्षेत्रलाई सेना र प्रहरीले घेराउ गरेका थिए । यही क्रममा आतंककारीले सेना र प्रहरीमाथि फाइरिङ गरेका थिए । सुरक्षाकर्मीको जवाफी कार्वाहीमा उनीहरु मारिएका अधिकारीहरुले बताएका छन् । मारिएकाको पक्षमा प्रदर्शन रोक्न इन्टरनेट बन्द गरिएको छ ।
सुरक्षाकर्मीहरुले जम्मू–कश्मीरमा जनवरीयता २२५ जना आतंककारी मारिएका कमान्डर लेफ्टीनेन्ट जनरल रणबीर सिंहले बताएका छन् । यो कार्वाहीमा घाटीका स्थानीयबासीले पनि सेनालाई साथ दिएको उनको भनाइ छ । सन् २०१७ मा २१३ आतंककारी मारिएका रिपोर्ट केन्द्र सरकारले संसदमा प्रस्तुत गरेको थियो । रिपोर्टअनुसार राज्य प्रहरी र सेनाका गरी ८० जवान शहीद भएका छन् । यसअघि सन् २०१६ मा १५० आतंकवादी मारिएका थिए ।

























