डा. गिरीका किस्सा : महेन्द्रको अँगालोबाट वीपीलाई धोका
वि.सं.२०७५ पुस ३ मंगलवार २३:२८
shares

पञ्चायतका जननीको रुपमा चिनिँने दिवंगत डा. तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक-पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । उनी २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि फर्स्ट मिनिस्टर हुँदै प्रधानमन्त्री समेत बने ।
शक्तिशाली राजतन्त्रको कट्टर पक्षधर गिरी तत्कालीन राजा वीरेन्द्रले २०३६ सालमा ‘निर्दलीय पञ्चायती व्यवस्था राख्ने कि बहुदलीय व्यवस्था राख्ने’ भन्नेमा जनमत संग्रह गर्दा असन्तुष्टि जनाउँदै गिरी विदेशिएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि डा. गिरी पुनः राजनीतिमा फर्कीए ।
करिव २७ बर्षपछि उनलाई ज्ञानेन्द्रले मन्त्रिपरिषदको उपाध्यक्ष बनाए । ‘पञ्चायत व्यवस्थाको जननी मनिने उनी ३४ बर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि बिपी कोइरालालाई हटाएर गिरीलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।
त्यसको ४ वर्ष पछि २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री बने । जीवनकाल भर आफ्नो सिद्दान्तबाट विचलित नभएका गिरीको मंगलबार ९३ बर्षको उमेरमा निधन भएपछि धेरैले उनलाई विभिन्न कोणबाट स्मरण गरेका छन् ।
वीपीलाई धोका दिएर महेन्द्रलाई साथ
२०१७ सालमा दुई तिहाई बहुमत प्राप्त वीपी कोइरालाको सरकारलाई बर्खास्त गरेर पञ्चायत व्यवस्था लागु गर्ने राजा महेन्द्र भए पनि यसको जन्मदाता डा. गिरीलाई नै धेरैले मान्दै आएका थिए । नेपाली कांग्रेसले ०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत पाएको थियो र उसैको सरकार थियो ।
राजा महेन्द्रलाई जननिर्वाचित सरकार असदस्त गर्दै पञ्चायत घोषणा गर्न डा. गिरीले नै उकासेको समकालीन राजनीतिज्ञ विश्वबन्धु थापा बताउछन् । मुलुकको पहिलो निर्वाचनमा कांग्रेसले दुई तिहाई जनमत सहित सरकार बनायो । वीपी कोइराला प्रधानमन्त्री थिए, सरकारमा डा. गिरी परराष्ट्रमन्त्री थिए । त्यतिबेला कांग्रेसबाट मन्त्रीदेखि राजाको पालामा मन्त्री भएका थापा भन्छन्, ‘डा. गिरीले साथ दिएकै कारण महेन्द्र त्यतिबेला सफल भएका हुन्, उहाँले मलाई आग्रह गरेपछि म पनि पञ्चायती लाईनमा उहाँलाई साथ दिन गएको हुँ ।’
त्यतिबेला कांग्रेसमा चतुर राजनीतिज्ञहरु वीपी र गिरी नै थिए । निकै चलाख र बौद्धिक भएकै कारण वीपीले महत्वपूर्ण जिम्मेवारी गिरीलाई नै दिएका थिए । थापा स्मरण गर्छन्, ‘तर त्यतिबेला गिरीले विपीलाई धोका दिएर महेन्द्रलाई साथ दिनुभयो ।’
जनतामा सार्वभौमसत्ता हुने कुराको पक्षमा वीपी थिए तर ठीक उल्टो थिए गिरी । उनी राजतन्त्रमै सार्वभौमसत्ता निहित हुनुपर्छ भन्दै राजालाई सघाए । राजा एक्लै नै नेपाली जनताको विकासका लागि जिम्मेवार ठान्ने गरी निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय प्रजातन्त्र भनेर जनमत संग्रह गर्दा निक्कै दुःखि भए । राजाले जनमत संग्रह घोषणा गरेकोमा सैद्दान्तिक असहमति जनाउँदै गिरी देश छाडेर श्रीलंका गए ।
पञ्चयती व्यबस्थाका हार्डलाईनर
बरिष्ठ राजनितिज्ञ गिरिको क्षमता, दूरदर्शिता कुनै राजनीतिज्ञसँग तुलना नुहुने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पुशपति शम्शेर राणाको समरण छ । ‘उहाँ असाधारण व्यक्तित्व हुनुहुन्थ्यो, आफ्नो अडानबाट कहिल्यै पछि हटेको थाहा पाईँन्,’ डा. गिरी प्रधानमन्त्री हुँदा मन्त्री रहेका राणाले यसरी समरण गरे ।
लामो समयको विदेश बसाईपछि ०६१ सालमा उनी स्वदेश फर्किएका थिए । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रलाई उनै डा. गिरीले उकाशेको राणाको दावी छ । ‘२०६१ सालसम्म नेपाली जनतामा धेरै राजनीतिक चेतना आईसकेको थियो, डा. सापले पनि देश विदेश थुप्रै देशका राजनीतिक नजीकबाट नियाल्नुभएको थियो, तर किन हो कुन्नी उहांले नेपालमा भने राजालाई पटक–पटक दवाव दिईरहनुभयो,’ राणा भन्छन्, ‘उहाले राजालाई कि दलमाथि प्रतिबन्ध लगाएर अघि बढ्नुस्, कि त राजगद्धि छाड्नुस भनेर सुझाव दिनुभएको थियो ।’
धर्म फेरे तर सिद्दान्त फेरेनन्
०६१ माघ १९ पछि डा. गिरी राजनीतिको पर्दामा देखिए । राजनीतिबाट टाढिएको करिब २७ वर्षपछि तत्कालीन राजा ज्ञानेन्द्रको आग्रहमा उनी शासन सत्तामा फर्किए । त्यतिबेला ७८ वर्ष पुगिसकेका डा. गिरीलाई ज्ञानेन्द्रले आफ्नो मन्त्रिपरिषदको उपाध्यक्ष हुन आग्रह गर्दा एक सर्त राखे ।
‘म तपाईको हातबाट कहिल्यै टिका लगाउदिन, यसो गर्दा उपाध्यक्ष बनाउनुहुन्छ भने बनाउनुस्,’ उनले ज्ञानेन्द्रसँग भनेका थिए । श्रीलंका बस्दा नै उनले क्रिस्चियन धर्म अँगालेका कारण उनले टिका नलगाउने सर्त राखेका तत्कालीन मन्त्रिपरिषद्का एक सदस्य राधा कृष्ण मैनाली बताउछन् ।
‘म शिक्षा मन्त्री थिए, उहाँ उपाध्यक्ष हुनुहुथ्यो, उहाँ दशैंमा राजाको हातबाट टिका नलगाउने सर्तमा नै मन्त्रीपरिषदको उपाध्यक्ष हुनुभएको थियो, अरु सबै राजा कहाँ टिका थाप्न जाने गर्थे, तर उहाँलाई पछिल्लो डेढ दशक यता कहिले राजा कहाँ गएको देखिन’ मैनाली स्मरण गर्छन् ।
शत्ता र शक्तिका लागि सधैँभरी दरबार वरिपरि रहने डा. गिरीको चरित्र थियो । लामो समय वामपन्थी राजनीति गरेका मैनाली भन्छन्, ‘लोकतन्त्र र प्रजातन्त्रको विपक्षमा रहनु उहाँको कमजोरी थियो तर गिरीमा विदेशीको पराधीन हुनुभन्दा राजा बलियो भएमा राष्ट्रियता बलियो हुन्छ भन्ने राजनीतिक चेत थियो ।’
२०६२–६३ को दोस्रो जनआन्दोलनले राजतन्त्र ढालेपछि उनी निश्कृय बसे । पहिलो जनआन्दोलनले बहुदल ल्याएपछि ततकालीन पञ्चहरु खुल्ला राजनीतिमा आए पनि उनी विदेशमै थिए । २०६१ मा स्वदेश फर्कीका उनी राजा हटाईएपछि राजनीतिमा आएनन् । त्यसपछि राजामा आँट नदेखेपछि पछिल्लो समय गिरी निराश थिए ।
‘राजतन्त्रलाई शक्तिलाशली हुनुपर्छ र जननिर्वाचित नभई राजाले मनोनित गरेको सरकार हुनुपर्छ’ भन्ने अनुदारबादी सिद्धान्तबाट कहिल्यै विचलित नभई उनी संसारबाट बिदा भएका छन् । अलविदा डा. तुल्सी गिरी ।

























