सिन्धुली दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो
वि.सं.२०७५ असोज २६ शुक्रवार २१:३०
shares

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–५, रिठ्ठे भीरमा सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ । शुक्रबार विहान भएको उक्त दुर्घटनामा परी घाइते भएका थप पाँच जनाको उपचार भइरहेको छ ।
शुक्रबार विहान मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको यात्रुवाहक बस सुनकोशी नदिमा खसेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।
दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकका २९ वर्षीय रवि खड्काको घटनास्थलमै मृत्यु भएको र सिन्धुलीको मरिण गाउँपालिका–७ का गाडी चालक राजकुमार लामा र उनका भाई अमृत लामाको धुलीखेल अस्पतालमा उपचारका क्रमा निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना भएको बस सुनकोसी नदीमा डुबेको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन वर्षअघि पनि सोही ठाँउमा यात्रुबाहक बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो ।

























