काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नारायणी नदी किनारमा छठ पर्वको तयारी

315
shares

नवलपुर । नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ कात्तिक शुक्ल चौथीको दिनदेखि सुरु भएको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले बताए । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएर बस्ने उनले बताए ।

छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई (खरना) भनिन्छ । खरनाका दिन शनिबारदेखि नै व्रतालुले निराहार व्रत सुरु गर्ने भन्दै उहाँले छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिने बताए । छठको मुख्य दिन सन्ध्या घाट आइतबार परेको भन्दै उनले ब्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिने बताए ।

षष्ठीको दिन व्रतालु महिलाले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुने परिहस्तको भनाइ छ ।

शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले यहाँको नारायणी नदी किनारलाई व्यवस्थित स्नानघाट बनाउने तयारीमा समिति जुटेको उनले बताए । छठ पर्व मनाउनेका लागि पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै पूजास्थललाई सुरक्षित र उज्यालो बनाउने तयारी गरिएको उनको भनाइ छ ।

तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले नारायणी नदी किनारको छठघाटलाई व्यवस्थापन गर्ने, सरसफाइ गर्ने, सजावट गर्ने र पण्डाल लगाएर सुरक्षित पार्ने काम अन्तिम चरणमा पुगेको बताए। नारायणी नदी किनारको छठघाटलाई आकर्षक टेण्टपण्डाल र झिलिमिली बत्तीले सजाउने काम भइरहेको उनको भनाइ छ ।

छठ पूजा अहिले तराईको मात्र चाड नभइ यो चाड पहाडी तथा अन्य समुदायले समेत मनाउने थालेका उनले बताए । छठी घाट व्यवस्थापनका लागि विभिन्न व्यक्तिले चन्दा तथा सहयोग उपलब्ध गराउँदै आएका पाण्डेको भनाइ छ ।

छठ पर्वका कारण बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङ्गलो, डालो, सुपली, टोकरी, माटोको कलश, दियो, पुजन सामग्री र प्रसादमा प्रयोग हुने उखु, फलफूल, मिठाइ, हरियो तरकारी, गहुँको पिठो, चिनी, तेल, नयाँ लत्ताकपडालगायतका सामान किन्नेको शुक्रबारदेखि नै भीडभाड बढेको छ ।