अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वे दक्षिण कोरियासँग पराजित, ब्राजिलले साउदीलाई हरायो
वि.सं.२०७५ असोज २७ शनिवार १३:४०
shares

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वे दक्षिण कोरियासँग दुई–एक गोलअन्तरले पराजित भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ भने निकै रोमाञ्चक बन्यो । खेलको ६६ औं मिनेटमा हाङ उइ जोले गोल गर्दै कोरियालाई अग्रता दिलाए । तर ६ मिनेट नबित्दै ७२ औं मिनेटमा उरुग्वेका भिसिनोले बराबरी गोल फर्काए ।
७९ औं मिनेटमा पुनः जुङ ओ योङले गोल गर्दै कोरियाको जित दर्ता गरे । दुई पटकको विश्वकप विजेता टोली उग्वेले पुन गोलको मौका सिर्जना गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो । खेलमा कोरियाले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो ।
यस्तै गएराति नै भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले साउदी अरेबियालाई २–० गोलले हराएको छ । गाब्रियल जिसस र एलेक्स सान्द्रोले एक–एक गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे ।
४३औं मिनेटमा जिससले गोल गरे । ८५औं मिनेटमा साउदी १० खेलाडीमा झर्न पुग्यो । साउदीका मोहम्मद अल ओइसले रातो कार्ड पाउँदै मैदान बाहिरिए । ९० औं मिनेटमा सान्द्रोले गोल गरे ।
गएराति नै भएका अन्य खेलमा जापानले पनामालाई ३–० ले पराजित गर्दा कतारले इक्वेडरलाई ४–३ गोलअन्तरले हरायो । अमेरिकालाई कोलम्बियाले ४–२ गोलअन्तरले जितको छ ।

























