एनआरएनए विज्ञ सम्मेलन काठमाडौंमा, स्वदेशमै लगानी प्राथमिकतामा
वि.सं.२०७५ असोज २७ शनिवार १४:०७
shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलन काठमाडौंमा जारी छ ।
शनिबार सुरु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि नेपालमै लगानी गर्न एनआएनएलाई आग्रह गरेका छन् । सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न तत्पर रहेको प्रधानमन्त्रीले बताए । विश्वसामु एनआरएनले नेपालको पहिचान प्रस्तुत गर्न ठूलो भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्न आग्रह गरे । विज्ञ सम्मेलनको निष्कर्ष विकासका लागि सरकारलाई पनि महत्वपूर्ण सुझाव हुने बताए । ‘अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ ।’
कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको प्रधानमन्त्रीले बताए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
नेपालको पर्यटन विकासमा गैरआवासीय नेपालीहरुले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले नेपाललाई विश्वका विकसित देशसँग सुदृढ सम्बन्ध स्थापना गर्ने माध्यमका रुपमा गैरआवासीय नेपालीले इमानदारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले देशको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको वास्तविकता औँल्याउँदै त्यसो हुन नदिन महासंघले निर्यातमूलक उद्योगको प्रवद्र्धनमा जोड दिएको बताइन ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै लगानी गरेर नेपाललाई समृद्ध तुल्याउन आफूहरु दृढ रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको स्पष्ट पारे ।
सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानीमैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताए ।

























